नवनिर्वाचित सांसद थापालाई बस्नेतको बधाई

भक्तपुर, मंसिर ८
नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतलाई नवनिर्वाचित सांसद दुर्लभ थापालाई बधाई तथा शुभकामना दिनुभएको छ । बस्नेतले थापा निवास कटुञ्जे सल्लाघारी पुगेर बधाई दिनुभएको हो ।
सो अवसरमा बस्नेतले समृद्ध भक्तपुर बनाउने अभियानमा आफ्नो सधैं साथ र सहयोग रहने बताउनुभयो । उहाँले थापाको कार्यकालमा भक्तपुरमा विकास निर्माणको गति थप बढ्ने अपेक्षा गर्दै आम मतदाताको भावना अनुसार निष्पक्ष भएर कार्य गर्न सुझाव दिनुभयो ।
त्यसैगरी थापाले पनि जनप्रतिनिधि कुनै पार्टी विशेष नहुने धारणा राख्दै भक्तपुरको विकास र समृद्धिमा कुनै सम्झौता नगर्ने बताउनुभयो । उहाँले आम भक्तपुरबासीको चाहना अनुसार अघि बढ्ने र आफ्ना कार्यमा सहयोग गर्न बस्नेतलाई आग्रह गर्नुभयो । सो अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा पनि सहभागी थिए ।
यसैगरी प्रदेश सभा क्षेत्र नं. २ (१)मा विजयी हुनुभएका नेकपा एमालेका किरण थापा मगरलाई निकतम प्रतिष्पर्धी रहनुभएका नेपाली कांग्रेसका विष्णुराज कार्कीले पनि बधाई दिनुभएको छ । कार्कीले थापा निवास सिपाडोल पुगेर बधाई तथा शुभकामना दिनुभएको हो ।
सो अवसरमा कार्कीले विकास निर्माणलगायतका कार्यमा रचनात्मक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विजयी थापा मगरले पनि राजनीतिमा प्रतिष्पर्धा भएपनि विकास निर्माणमा सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।