भक्तपुर १ को प्रदेश सभा १ मा नेमकिपाका गोसाईं भारी मतान्तरले विजयी

भक्तपुर, मंसिर ८
भक्तपुरको प्रदेश सभा क्षेत्र नं. १ (क)मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुरेन्द्रराज गोसाई भारी मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बिहिवार बिहान सम्पन्न मतगणनामा गोसाईंले २९ हजार ७०४ मत ल्याई विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
गोसाईंका निकतम प्रतिष्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका पवन भुजुले तीन हजार १६१ मत प्राप्त गर्नुभयो । त्यस्तै नेकपा एमालेका उम्मेदवार नारायणसुन्दर सिन्तकलाले दुई हजार ४२८, राप्रपाका रोशन नापितले १ हजार ९०५ मत प्राप्त गर्नु भएको बास्तोलाले जानकारी दिनुभयो ।