भक्तपुर १ मा नेमकिपाका सुवाल तेब्बर मतले विजयी

भक्तपुर, मंसिर ८
भक्तपुर क्षेत्र नम्बर १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल प्रतिष्पर्धी भन्दा तेब्बर मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल बिद्युत प्राधिकरणको तालिम केन्द्रमा बिहिवार बिहान सम्पन्न मतगणनामा सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताउनुभयो ।
उहाँका प्रतिष्पर्धी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९५८ मत प्राप्त गर्नुभयो । सुवालले गेलाललाई ३० हजार ८०१ मतान्तरले पछि पार्नुभएको हो । त्यसैगरी राप्रपाका भरत बहादुर खड्काले ९ हजार ३०३ र सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका सुनिल गोठे ‘बासु’ले ५ हजार २८३ मत प्राप्त गरेको बास्तोलाले बताउनुभयो ।
भक्तपुर १ मा २०७४ सालको निर्वाचनमा पनिसुवाल ३३ हजार ७६ मतका साथ विजयी हुनुभएको थियो । उहाँको प्रमुख प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ र माओवादी केन्द्रका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरेका थिए ।