भक्तपुरको विकासमा सबै राजनीतिक दलसँग हातेमालो गर्दै अघि बढ्छु – सांसद थापा

भक्तपुर, मंसिर ८
नवनिर्वाचित भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले जिल्लाको शिक्षा ,स्वास्थ्य र समग्र विकास निर्माणका प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । थापाले निर्वाचित भए लगत्तै एक प्रेस विज्ञप्ती जारी गर्दै जनप्रतिनिधि सबैको साझा भएकोले सबै मतदताहरुलाई आगामी दिनहरुमा निष्पक्ष रही सेवा गर्ने र भक्तपुरको शिक्षा, स्वास्थ्य र समग्र विकासमा प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका थापाले संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने मूल ऐजेण्डालाई अनुमोदन गरेकोमा भक्तपुरका आम मतदातालाई धन्यवाद समेत दिनुभएको छ ।
“मंसिर ४ गते सम्पन्न निर्वाचन मार्फत संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने हाम्रो मूल ऐजेण्डालाई आफ्नो मतबाट अनुमोदन गर्दै लोकतान्त्रिक वाम गठववन्धनका साझा उमेदवारहरुलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराइदिनु भएकोमा सबै मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दछु” विज्ञप्तीमा उल्ल्ेख छ ।
थापाल भक्तपुरका मतदाताहरुले गर्नुभएको विश्वासलाई एउटा जिम्मेवारीको रुपमा लिएको र सो जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्न प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
उहाँले निर्वाचनमा परिणामसम्म पु¥याउन विभिन्न तह र जिम्मेवारीमा रहेर मेहनत गर्नुहुने गठबन्धनमा रहेका सबै राजनीतिक दलका टोल, वडा, नगर, प्रदेश, क्षेत्र र जिल्ला समिति, भातृ तथा शुभेच्छुक संघ संस्थाका पदाधिकारी एवम् सदस्य, आम जनसमूदाय, शुभेच्छुक तथा समर्थक र बुद्धिजीवि, मजदुर किसान वर्गको योगदानको उच्च कदर गर्दै आभार समेत व्यक्त गर्नुभएको छ ।
त्यसैगरी निर्वाचनलाई सम्पन्न गर्न अहोरात्र खटिनु हुने निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा प्रत्यक्ष अप्रत्यक्ष संलग्न सबैलाई धन्यवाद प्रदान गर्नुभएको छ ।