भक्तपुर, कार्तिक २९
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पुरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभएको हो ।
उहाँले भक्तपुरमा निर्वाचनका लागि दुई हजार २१८ सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो । निर्वाचनमा भक्तपुरमा आठ सय ८६ म्यादी प्रहरी, सात सय ४ नेपाल प्रहरी, तीन सय ७ शसस्त्र प्रहरी, दुई सय ९८ नेपाली सेना र सुचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागका २३ जना सुरक्षाकर्मी परिचालन हुने शर्माले बताउनुभयो ।
“मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुरका मतदातालाई शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान गराउन दुई हाजर २१८ सुरक्षाकर्मी परिचालन हुन्छ,” उहाँले भन्नुभयो । यससँगै कमाण्ड पोष्ट, रिजर्भ फोर्स र संयुक्त अनुगमन टोलीलागायत सम्पुर्ण सुरक्षाको तयारी पुरा भैसकेको उहाँले बताउनुभयो ।
सबै मतदान अधिकृतहरुलाई निर्वाचन सामग्री सहित मतदान स्थलमा पठाउने समेत तयारी पुरा भएको प्रजिअ शर्माले बताउनुभयो । उहाँले कार्तिक ३० गतेभित्र सम्पुर्ण मतदान अधिकृतलाई सबै मतदान स्थलमा पुग्ने व्यवस्थाको तयारी समेत भैसकेको जानकारी दिनुभयो ।
भक्तपुरमा ७६ मतदान स्थल २१९ वटा मतदान केन्द्र छन । जिल्लामा कुल एक लाख ९२ हजार ३७२ मतदाता संख्या रहेका छन । जसमध्ये क्षेत्र नं १ मा ४९ हजार ८३९ पुरष र ५१ हजार ४२२ महिला गरी एक लाख एक हजार २६१ मतदाता छन । क्षेत्र नं २ मा ४४ हजार ८४४ पुरुष, ४७ हजार ६२ महिला र ५ अन्य गरी जम्मा ९१ हजार १११ मतदाता संख्या रहेका छन ।