डलर देखाई ठगी गर्ने दुई जना पक्राउ

भक्तपुर, भाद्र ७
सस्तो दरमा अमेरिकी डलरसँग नेपाली रुपैंया साटीदिने प्रलोभनमा पारी श्रृंखलावद्ध रुपमा ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नंं ३ थला डाँडा घर भई हाल काठमाण्डौं बौद्ध आरुबारी बस्ने ३२ वर्षिय समिर भन्ने संजय बहादुर तामाङ र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नंं ३ शम्सेर डाँडा घर भई हाल ललितपुर धापाहाईट बस्ने ३१ वर्षिय विष्णु तामाङ रहेका छन ।


प्रहरीले उनीहरुलाई काठमाण्डौं टोखास्थित युनिक कोलोनीबाट १५ लाख रुपैंया बराबरको नेपाली रुपैंयासँग अमेरिकी डलर साट्ने भनी ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक एसपी कृष्णप्रसाद कोइरालाले बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैंयाँ ५, १० र २० का केही बण्डल र केही थान अमेरिकी डलर समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले बौद्ध, टोखा, कपन, साँखुलगायतका स्थानमा विगत केही समयदेखी सस्तो दरमा अमेरिकी डलर साट्ने बहानामा नेपाली ५, १० र २० रुपैंयाँका नोटका बण्डलमाथि अमेरिकी डलरका नोट राखी ठगी गर्दै आएका थिए ।


अनुसन्धानका क्रममा उनीहरुले पिडितहरुको फोन र मोवाईल नम्बर पत्ता लगाई फोन मार्फत आफुहरुसँग अमेरिकी डलर भएको र सस्तो दरमा साट्ने भनी प्रलोभनमा पारी उपत्यकाका साँघुरा गल्ली, पातलो मानवबस्ती भएको स्थान र जंगल आसपास बोलाई पिडित पक्षलाई झुक्यानमा पारी डलरको पोको भनी नेपाली ५, १० र २० का नोटको बण्डल दिई ठगी गर्ने गरेको पाईएको एसपी कोइरालाले बताउनुभयो ।
ठगी र लुटपाटमा संलग्न यस्ता व्यक्तिहरुले विभिन्न नम्बरका मोवाइल प्रयोग गर्ने, एउटा घटनापछि उक्त मोवाइल नम्बर पुनः प्रयोग नगर्ने गरेको पाईएको छ । पिडितहरुले दिएको हुलियाको आधारमा तयार पारेको स्केचको आधारमा संजय र विष्णुलाई पक्राउ गरिएको एसपी कोइरालाले बताउनुभयो ।