विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ

भक्तपुर, भदौ ८
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले अवैध सुनसहित एक भारतीय नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम विहारका ३४ वर्षीय विकास महाजन रहेका छन् ।
महाजनलगायतले विमानस्थलहुँदै अवैध सुन ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा उनलाई ७७७ ग्राम सुनसहित विमानस्थलको सिनामंगलस्थित गोल्डेन गेट नजिकको ट्याक्सी पार्किङबाट पक्राउ गरिएको हो ।
प्रहरीले महाजनले लगाएको सेन्डो भेष्ट पेष्ट गरिएको ४०८ ग्राम र अण्डरवेयर कट्टुमा पेष्ट गरिएको ३६९ ग्रामसहित कुल ७७७ ग्राम पहेँलो धातुसहित उनको साथबाट भारतीय ५ सय दरका ३९ थान नोट र ४२० युएई दिराम बरामद भएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
महाजन शारजाह एभियसन सर्भिसेजको जी९५३६ नं.को फ्लाईटबाट सोमवार दिउँसो दुवईहुँदैं काठमाण्डौं आएका थिए । उनलाई थप कारवाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको प्रहरीले जनाएको छ ।