मोति जयन्तीको अवसरमा वागीश्वरीमा गजल गोष्ठी

भक्तपुर, भाद्र १०
वागीश्वरी मावि र वागीश्वरी कलेजको संयुक्त आयोजनामा १५७ औं मोति जयन्तीको अवसरमा शुक्रवार गजल गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा गजल गायक कोमल रिजालले तबला बादक श्यामसुन्दर कायष्ठको सहयोगमा विभिन्न गजल प्रस्तुत गर्नुभएको थियो ।
प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले मोतिराम भट्टको बहुआयामिक व्यक्तित्वमाथि प्रकाशन पार्नुभएको उक्त गोष्ठीमा शिक्षकहरु हरिप्रसाद बास्तोला, इन्द्रकुमार श्रेष्ठ, गीता खनाल, हरिसुन्दर पोतामहा, शिक्षक गनु साम्पाङ राई, श्रीया पहिजु, हिरा फुँयालसहित गजलकार चन्द्रप्रसाद ढकाल र विदुरप्रसाद तिमिल्सिनाले पनि आ–आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।


त्यसैगरी गोष्ठीमा श्रृङ्गारिक, सामाजिक एवं समसामयिक राजनीतिक विषय वस्तुहरुलाई समेटी मानविकी समूह कक्षा ११, १२ र नेपाली मूल विषय स्नातक तहका २५ जना विद्यार्थीहरुले गजल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वागीश्वरी मावि र कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बर्सेनि भइरहेको यस कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइएकोमा नेपाली भाषा शिक्षण विभागलाई धन्यवाद दिँदै गोष्ठीको क्रममा सङ्कलित साहित्यिक रचनाहरुको सङ्ग्रह प्रकाशित गर्दै आएको जानकारी दिनुभयो ।
सो अवसरमा गत श्रावण महिनामा स्नातक दोस्रो वर्षका विद्यार्थीहरुको निम्ति आयोजित प्राज्ञिक लेखन कार्यशालापछि लेखिएका प्राज्ञिक लेखनमा प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरुलाई पुरस्कारसहित प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।