मध्यपुर थिमिका ५१९ परिवारलाई स्वबासी जग्गाको धनी पुर्जा वितरण

भक्तपुर, भाद्र १०
मध्यपुर थिमि नगरपालिका वडा नं. ५ र ७ स्थानीयलाई बिहिवार र शुक्रवार दुई दिन स्ववासी जग्गाधनीहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयले नाप जाँच गरी हाल साविक गरेर तयार गरिएको ५१९ थान जग्गाधनी पुर्जा नगरपालिकाको पहलमा नापी कार्यालयले नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा वितरण गरिएको हो ।
नापी भएको एक दशक भन्दा बढी भएपनि जग्गाधनीले पुर्जा नपाउँदा अनेकौं समस्या भोग्नु परेको जनगुनासो बढेपछि नगरपालिकाको पहलमा ती पुर्जा वितरण गरिएको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले अहिले वडा नंं ५ र ७ का जग्गाधनीलाई पुर्जा वितरण गरिएको र आगामी एक वर्षभित्र नगरका सबै वडाका स्वबासी जग्गाधनीलाई पुर्जा वितरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।


नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सम्पत्ति भए पनि कागजी प्रमाण नहुँदा सुकुम्बासी जस्तै भइरहेका जग्गाधनीहरुलाई पुर्जा पाएपछि सम्पत्तिमाथि भोकाधिकार कायम भएको बताउनुभयो । उहाँले क्रमशः बाँकी वडाहरुको पनि पुर्जा वितरणलाई निरन्तरता दिँदैं जाने योजना रहेको बताउँदैं स्थानीयलाई पनि छिटो भन्दा छिटो जग्गाधनी पुर्जा प्राप्तिको लागि आवेदन दिन आग्रह गर्नुभयो ।


जग्गा नापजाँच ऐन २०१९ को दफा ६(५) बमोजिम नाप जाँच भई तयार भएका जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले बताउनुभयो । उहाँले २०२१ सालमा प्राविधिक कारणले नापजाँच हुन नसकेको र परापुर्व कालदेखी हकभोग गरी बसोबास गरिरहेको जग्गालाई स्वबासी जग्गाको रुपमा परिभाषा गरिएको बताउनुभयो ।
उहाँले तत्कालिन अवस्थामा चेन प्रविधिले जग्गाको नापजाँच भएको र खुल्ला क्षेत्रमा नापजाँच भएपनि घनाबस्ती भएको स्थानमा नापजाँच हुन नसक्दा स्थानीयले जग्गाधनी पुर्जा पाउन नसकेको बताउँदैं उहाँले तत्कालिन ६ नं.नापी गोश्वारा कार्यालयले नापजाँच गरेको र नापी गोश्वारा कार्यालय खारेज भएसँगै नापी कार्यालयलाई बुझाएको कागजपत्रका आधारमा तयार गरिएका पुर्जाहरु वितरण गरिएको जानकारी दिनुभयो ।


उहाँले मध्यपुर थिमि नगरपालिकाको साविक १७ वटा वडा मध्ये हालसाविक लागु भएको वि. सं. २०६४ देखी २०७६ सम्म ८ वटा वडाको सिमित पुर्जा वितरण भएको र हाल तीन वर्षको अवधीमा थप ८ वटा वडाको पुर्जा वितरण भएको बताउनुभयो ।