सम्पादकिय – अलविदा प्रदिप गिरि

भक्तपुर, भाद्र ७
नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदिप गिरिको ७५ वर्षको उमेरमा शनिवार राती निधन भएको छ । स्पष्ट र प्रखर वक्ता, समाजवादी चिन्तक, सादगी जिवन जिउने नेता गिरि कांग्रेसी नेता भएपनि माक्सवादी चिन्तक समेत थिए । त्यसैले उनलाई कांग्रेसी मात्र नभएर नेपालका मै हुँ भन्ने कम्युनिष्टहरु समेत नेता मान्थे, उनको विचारको प्रशंसक थिए, उनका विचारलाई सम्मानपूर्वक सुन्थे ।
गिरि आफ्ना विचार राख्दा कोही रिसाउँछ की, कतै पार्टीले कारवाही गर्छ की भन्ने जस्ता कुनै चिन्ता लिँदैनथे । उनले पटक पटक आफ्नै पार्टीका नेता, आफ्नै पार्टीको सरकारका विरुद्ध सडक र संसदमा बुलन्द अवाजका साथ विरोध गरेका छन । आफ्नै दलको सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटका विरुद्ध पनि संसदमै अभिव्यक्ति दिएका छन । उनको यही अदाका कारण उनी प्रति सबै फिदा थिए ।
समकालिन राजनीतिकर्मीमा सम्भवतः लाभको पदमा नबस्ने गिरि एक्ला नेता हुन । पटक पटक मन्त्री बन्न र कुनै लाभको पदमा बस्न गरेको आग्रहलाई गिरिले सधै लत्याईरहे । गृहजिल्ला सिरहाबाट चार पटक निर्वाचित भएर संसदमा पुगेका गिरि संसदको पछिल्लो लहरमा बस्थे, सबैका अभिव्यक्ति अभिरुचीपूर्वक सुन्थे र बेला बेलामा आफैं रोष्टममा पुगेर त कहिले कुर्सीमै माइक समातेर समयसापेक्ष विषयमा सटिक टिप्पणी सहित आफ्ना अभिव्यक्ति राख्थे । जब उनी बोल्थे सबैको ध्यान तान्थे । उनको अभिव्यक्तिलाई सत्तापक्ष र प्रतिपक्ष सबैले सम्मानपूर्वक सुन्थे । संसदमा बोल्दा सत्तापक्ष र प्रतिपक्ष सबैको मन जित्ने सम्भवतः गिरि एक्ला नेता हुन ।
सरल, सादा जीवनशैली अपनाउने गिरि विचारका धनी थिए । उनले आफ्नो समाजवादी विचारलाई व्यवहारमा समेत उतारेका थिए । उनले कहिल्यै पनि धनसम्पत्ति जोड्नेमा आफुलाई लगाएनन् । बरु उनी संसदको पारिश्रमिक आएको दिन पुस्तक किन्न पुस्तक पसलमा पुग्थे । गिरिले माक्सवादी हुँ भन्नेहरुले भन्दा अब्बल माक्सवादी चिन्तन र व्यवहार आत्मसाथ गरे ।
गिरिले राजनीतिमा लागेर के कमाए त ? यसको उत्तर उनको शवयात्रामा देखियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन ओइरो लागेको लर्कोले देखाएको छ । कांग्रेस नेता भएर पनि सबै नेपालीका साझा व्यक्तित्वका रुपमा गिरिले आफुलाई उभ्याएका छन । विचार, सिद्धान्त र सत्ताकेन्द्रीत आजको राजनीतिमा गिरिले आफुलाई सच्चा राजनीतिज्ञको रुपमा उभ्याउन सफल भएका छन ।
मृत्युलाई सधै शास्वत सत्य मान्ने गिरि आज त्यही सत्य बाटोमा लागेका छन । तर उनको विचार सधैं अमर रहनेछन । नेपाली राजनीतिमा उनको विचार सधैं बाँची रहनेछन । सामाजिक न्याय र समानताको पक्षमा उनको जुन दृष्टिकोण छ, त्यसले सधै नेपाली राजनीतिलाई मार्गदर्शनको काम गर्न सकोस् । अलविदा प्रदिप गिरि ।