शाक्यसिंह परियत्ती तथा प्रौढ शिक्षालयका उत्कृष्ट विद्यार्थी पुरस्कृत

ललितपुर, भाद्र ५
ललितपुर महानगरपालिका वडा नं. १२ थैनास्थित शाक्यसिंह परियत्ती तथा प्रौढ शिक्षालयको वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा कक्षा १ देखि १० सम्मका परीक्षामा उतिर्ण विद्याार्थीहरु, बोर्ड प्रथम, कक्षागत परीक्षा र विशेष क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई प्रमााणपत्र, मेडल, नगद र बुद्धको प्रतिमासहित पुरस्कृत गरिएको हो । साथै सो अवसरमा ५ जनालाई शाक्य छात्रबृत्ति र १जनालाई प्रज्ञानन्द छात्रबृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा ललितपुर क्षेत्र नं. २ का सांसद कृष्णलाल महर्जन, बागमती प्रदेशका सांसद शोभा शाक्य र बौद्ध समाजसेवी एवं दाता मोतीलाल शिल्पकारलगायतले जीवनलाई सफल बनाउन बौद्ध धर्म र बौद्ध शिक्षालाई अंगीकार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सो अवसरमा ललितपुर महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष नारायण अवाले शिक्षालयलाई एक लाख रुपैंया आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै थप सहयोगका लागि छलफल गरी अघि बढ्ने बताउनुभयो ।
भिक्षु एवम् केन्द्राध्यक्ष नारद महास्थविरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपासक उपासिकाहरुलाई पुण्यानुमोदन गराई विसर्जन गरिएको थियो । श्री शाक्यसिंह परियत्ती तथा प्रौढ शिक्षालय वि.सं.२०२० देखि संचालन हुँदैं आएको संस्था हो ।