थिमिमा यसवर्ष पुनः येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा सञ्चालन हुने

फाइल फोटो

लक्ष्मी गारु, भक्तपुर, भाद्र ५
मूख्यत आर्थिक अभावलगायत विविध कारणले नियमित सञ्चालन हुन नसकेको थिमिको येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) यसवर्ष पुनः सञ्चालन हुने भएको छ । मध्यपुर थिमि–५ का विरेन्द्रभक्त श्रेष्ठ दोस्रो पटक जिब्रो छेड्न तयार भएपछि यसवर्ष पुनः थिमिमा ईन्द्रजात्राको अवसरमा सञ्चालन हुने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा सञ्चालन हुन लागेको हो । विरेन्द्रभक्तले २०७४ सालमा जिब्रो छेडाएका थिए । यसवर्ष यही भाद्र २५ गते शनिवार जात्रा हुँदैछ ।
यो जात्रा वि. सं. २०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधि बहाल भएपछि पुनः सञ्चालनमा आएको थियो । २०६३ सालमा अन्तिम पटक सञ्चालन भएर रोकिएको यो जात्रा नगरपालिकाको आर्थिक सहयोगमा विरेन्द्रभक्त जिब्रो छेड्न तयार भएपछि ११ वर्षपछि पुनः जात्रा सञ्चालनमा आएको थियो । २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि कोरोना महामारीका कारण जात्रा रोकिएको थियो । त्यसअघि २०५९ र २०५३ सालमा यो जात्रा सञ्चालन भएको पाईन्छ ।
जात्राको लागि शनिवार विरेन्द्रभक्तले परम्परागत प्रचलन अनुसार मुल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुईरो) बनाउन सम्ये बजीसहितको पुजा प्रदान गरी आग्रह गर्नुभएको छ । सोही अनुसार नकर्मीले जिब्रो छेड्ने सुईरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्ने प्रचलन रहेको छ । यसरी राखेको सियोले जिब्रो छेड्दा रगत नआउने जनविश्वास रहेको छ ।
मध्यपुर थिमिमा वर्षेनी दुई वटा मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) सञ्चालन हुने गरेको छ । पहिलो बिस्काः (बिस्केट) जात्राको अवसरमा प्रत्येक वर्ष बैशाख २ गते दिउँसो थिमिको बोडेमा र दोस्रो ईन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पुर्णिमाको साँझ थिमिको दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ । बोडेको जात्राले निरन्तरता पाउँदैं आएपनि थिमिको जात्रा भने नियमित सञ्चालन भएको पाईंदैन ।
थिमिको जिब्रो छेड्ने जात्राको लागि जात्राको आठ दिन अगाडि द्यः दुसालेगु अर्थात देवता भित्र्याउने चलन रहेको छ । त्यसको लागि बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनु पर्दछ र रातोभालेको वलि दिएर बालकुमारीको साधना गर्नुपर्दछ । जिब्रो छेड्ने जात्राको चारदिन अघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलन समेत रहेको छ । इन्द्र जात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजागरि छ्वयला ब्वः भोज खुवाउने चलन रहेको छ ।
त्यसको भालिपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारी देखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ति दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईन्छ ।
डवलीमा सयौं जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमीनायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं (महादिप) बोक्न लगाई उसको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ । जिब्रो छेड्ने व्यक्तिको इच्छा अनुसार पहिला चाँगुनारायण तथा पशुपति सम्म पनि परिक्रमा गराएको ईतिहास पाईन्छ । इच्छाएको ठाँउमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमीनायोले सुइरो निकालिन्छ ।
सुईरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ । अनि सुईरोलाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । बालकुमारी मन्दिर परिसरमा सुईरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले घर गई मान्यजनबाट सगुन लिन्छ । जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पुजा गर्न जानुपर्ने प्रचलन रहेको छ ।
जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुईरोले जिव्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।