भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम ः शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई प्राथमिकता

भक्तपुर, असार ८
भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० मा शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा जोड दिने भएको छ । भक्तपुर नगरपालिकाको १२ औं नगरसभामा बुधवार नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख सुनिल प्रजापतिले आगामी आर्थिक वर्ष पनि शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा नगरपालिकाले विशेष जोड दिने बताएको हो ।
कुल ९५ बुँदामा समेटिएको नीति तथा कार्यक्रमको शिक्षा शिर्षकमा मात्र १५ बुँदा समेटिएका छन । शिक्षामा नगरपालिकाले ख्वप विश्व विद्यालय स्थापनालाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले हाल विभिन्न क्षेत्रका ७ वटा शैक्षिक संस्था सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा ‘विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरूको टोली गठन गरी आवश्यक तयारी गरिने’ उल्लेख छ । सामुदायिक विद्यालयहरूमा विज्ञान प्रयोगशाला र गणित प्रयोगशालाको निर्माण गर्ने, नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार केन्द्रहरूलाई थप व्यवस्थित र स्तरीय सेवा प्रदान गर्दै वडा—वडामा विस्तार गर्ने, इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषालगायतका विषयहरूमा उच्च शिक्षा हासिल गर्ने नगरबासी विद्यार्थीहरूको लागि दिँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिने, भक्तपुरलाई ज्ञान—विज्ञानको केन्द्रको रूपमा विकास गर्न नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा नयाँ विषयहरू थप गर्दै लाने, कुनै पनि नगरबासी विद्यार्थी आर्थिक कारणले उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहोस् भन्ने उद्देश्यले प्रदान गर्दै आएको शैक्षिक ऋणलाई निरन्तरता दिँदै समयानुकूल ऋण रकमको सीमा बृद्धि गर्ने कार्यक्रम रहेको छ ।
यस्तै पठन संस्कृतिको विकासको लागि वडा—वडामा स्थापित पुस्तकालयहरूका लागि आवश्यक सहयोग गरी नियमित सञ्चालनको व्यवस्था मिलाउने, जनज्योति पुस्तकालयलाई इ–लाइब्रेरीको रूपमा विकास गर्ने, गृहिणी महिलाहरू एवम् प्रौढ नगरबासीहरूका लागि निरन्तर शिक्षा सञ्चालन गर्ने, विद्यालय र कलेज जीवन छुटेका नगरबासीहरूका लागि बिहान र साँझ कक्षा सञ्चालनको व्यवस्था गर्ने भएको छ ।
स्वास्थ्यतर्फ भक्तपुर नगरपालिकाले आगामी वर्ष ख्वप अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालन गर्ने, आवश्यकताअनुसार बिशेषज्ञ सेवा थप्दै ख्वप अस्पतालमा प्रसुती सेवा सञ्चालन गर्ने, वडा—वडामा चिकित्सकसहितको स्वास्थ्यउपचार केन्द्रहरूको विस्तार गर्ने, घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउने, गम्भीर रोग लागेका बिरामीहरूलाई दिइँदै आएको आर्थिक सहयोग रकमलाई निरन्तरता दिने, आयुर्वेदिक उपचार सेवालाई वडा—वडामा विस्तार गर्ने, रगत आवश्यक पर्ने बिरामी नगरबासीहरूको लागि निःशुल्क रगतको व्यवस्था गर्ने भएको छ ।
भक्तपुर नगरपालिकाले वडा नं १ स्थित निर्माणाधीन भाज्या पुखु, वडा नं ४ को इखालाछी मठ, हाडा छेँ र लक्ष्मीनरसिंह मन्दिर तथा वडा नं. २ को इन्द्रायणी द्योछेँको पुनःनिर्माण आगामी आर्थिक वर्ष सम्पन्न गर्ने भएको छ ।
त्यस्तै २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको लायकूस्थित थंथु दरबार (पहिले नगरपालिका रहेको भवन) को मौलिक शैलीमै पुनःनिर्माण कार्यलाई अगाडि बढाउने, भक्तपुरको जनजीवन झल्किने साँस्कृतिक म्युजियम (सङ्ग्रहालय) निर्माणको कार्यलाई अगाडि बढाउने, साँस्कृतिक गुरुहरूलाई नगदसहित सम्मान गर्ने, भक्तपुरमा आन्तरिक र बाह्य पर्यटकहरूको प्रवद्र्धनको लागि सन्ध्याकालीन सांस्कृतिक प्रदर्शनीको व्यवस्था मिलाउने र दाफा, भजन र गुठीहरूको अभिलेख व्यवस्थित गर्न नगरपालिकामा दर्ता गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।
यसैगरी भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, कुहिने र नकुहिने फोहोर घर—घरबाटै निश्चित समय र बार तोकेर सङ्कलन गरी ती फोहरबाट कम्पोष्ट मल बनाइ किसानहरूलाई सस्तोमा बिक्री गर्ने व्यवस्था मिलाउने, प्लाष्टिकको प्रयोगमा न्युनीकरणका साथै त्यसको वैकल्पिक उपाय अवलम्बन गर्न नगरभित्रका सहकारी र विभिन्न सं्घ—संस्थासँग समन्वय गरी कार्य अगाडि बढाइने, मेलम्चीको पानी नगरबासीहरूको घर—घरमा वितरण गर्ने व्यवस्था मिलाउने, कौसी खेती प्रविधिलाई प्रोत्साहन गर्ने, युवाहरूलाई रेफ्रिजेरेटर, वासिङ मेसिन, मोटरसाइकल, मोबाइल, विद्युतीय उपकरण मर्मत लगायतका सीपमूलक तालिम प्रदान गर्ने, जुजु धौ, टका टपुली (भादगाउँले टोपी), हाकु पटासी, ताइच्युन च्युराजस्ता स्थानीय परम्परागत उत्पादन तथा सीपलाई आयआर्जनको स्रोतको रूपमा विकास गरी रोजगारीको प्रबद्र्धन गर्ने नीति लिने नगरप्रमुख प्रजापतिले नगरसभामा जानकारी दिनुभयो ।
ट्राफिक व्यवस्थापन र नगरका बजार व्यवस्थापनमा सुधार ल्याइ भक्तपुरलाई व्यवस्थित नगरको रूपमा विकास गर्न नगर प्रहरीको व्यवस्था गर्ने, विश्व सम्पदा सूचीमा सुचिकृत दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्रहरूमा रात्रीकालीन विशेष बत्तीको व्यवस्था गर्ने, नगरपालिकाका गतिविधिहरू जनताबीच छिटो—छरितो पु¥याउन र जनतालाई हरेक गतिविधिबारे सुसूचित गर्न ख्वप टेलिभिजन सञ्चालनमा ल्याउन, अनलाइनबाट कर तिर्ने र अनलाइन नक्सापासको प्रक्रिया अगाडि बढाउने, भक्तपुर नपा वडा नं. २ स्थित पेपर क्राफ्टलाई पुनः सञ्चालनमा ल्याउने कार्यक्रम रहेको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।