सरकारी जग्गाको बैना लिई ५ करोड २० लाख ठगी गरेको आरोपमा दुई जना भक्तपुरबाट पक्राउ

भक्तपुर, जेठ १३
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सरकारी जग्गा बिक्रि गर्ने उद्देश्यले बैना लिने दुई कारोवारीलाई भक्तपुरबाट पक्राउ गरेको छ । सरकारी जग्गा बैना गरी ५ करोड २० लाख ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षका इश्वर गाइजुलाई आज (शुक्रवार) मालपोत कार्यालय भक्तपुरबाट पक्राउ गरेको हो ।
उनीहरुले साविक सुडाल गाविस वडा नम्बर ४ क कित्ता नं. ३९९ को सरकारी जग्गा बिक्रिका लागि बैना वापत करारनामा गरी ५ करोड २० लाख रुपैंया ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । साथै उनीहरुले साविक सुडाल गाविस वडा नम्बर ४ क मा रहेको अर्कैको नाममा रहेको जग्गा झुक्यानमा पारी बिक्री गर्न करारनामा बनाएको आरोप समेत लागेको छ ।
खोटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बस्ने धनीराम राईको जाहेरीमा उनीहरुलाई पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो । उनीहरुलाई थप आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको कार्यालयले जनाएको छ ।