चाँगुनारायणमा शैक्षिक शत्रको तयारी कार्यशाला

भक्तपुर, जेठ १२
भक्तपुरको चाँगुनारायण नगरपालिकाले शैक्षिक शत्रको तयारी स्वरुप कार्यशाला गोष्ठी गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका विद्यालयहरुका प्रधानाध्यापक तथा प्रिन्सिपलहरुका लागि सो कार्यशाला गरेको हो ।
कार्यशालाको उद्घाटन गर्दै नगरप्रमुख जिवन खत्रीले ‘शैक्षिक सुशासन, गुणस्तरीय शिक्षाको छ रहर – शिक्षाको ज्योतिले जगमगाउँ चाँगु नगर’ भन्ने नारा तय गरी शिक्षामा अघि बढिरहेको चाँगुनारायणलाई शैक्षिक क्षेत्रको नमूना नगरपालिका बनाउनका लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शिक्षण कार्यमा शिक्षकहरुले ईमान्दारिता प्रस्तुत गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
शिक्षक नै समाजमा आदर्श व्यक्ति भएकाले आदर्श व्यक्तिले मात्र आर्दश समाज निर्माण गर्न सक्ने बताउँदै उहाँले विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षाका लागि शिक्षकले मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षकको हित तथा शिक्षकको पेशागत क्षमता र दक्षता बृद्धिका लागि नगरपालिकाले शिक्षक प्रोत्साहनका कार्यक्रम ल्याउने बताउँदैं उहाँले विद्यालयहरुले अभिभावकको मन जित्ने वातावरण बनाएर अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख रमेश बुढाथोकीले शिक्षालाई गुणस्तरीय बनाएर मात्र समृद्ध समाजको परिकल्पना गर्न सकिने भएकाले शिक्षकहरुलाई सोही अनुसार तयार रहन र तयारी साथ पठनपाठन गर्न सुझाव दिनुभयो ।
शिक्षकहरुको क्षमता अभिृवृद्धि गर्न तथा शैक्षिक शत्रको तयारी अन्तर्गत विद्यालयले गर्नुपर्ने कामहरुबारे जानकारी दिन एकदिने कार्यशाला गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले बताउनुभयो । उहाँले नगरपालिकामा शतप्रतिशत बालबालिका विद्यालयको पहुँचभित्र रहेको उल्लेख गर्दै सो कार्यलाई निरन्तर अघि बढाउनुपर्ने जोड दिनुभयो ।
शिक्षा शाखा प्रमुख खड्काले चाँगुनारायण नगरपालिकामा रहेका विद्यालयहरुले गुणस्तर कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेलिरहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरुलाई चार वटा समूहमा विभाजन गरी छलफल गराईएको थियो । ती समूहहरुले अनुभव सहित विभिन्न योजनाहरु पेश गरेका थिए । सो अवसरमा नगर शिक्षा समितिका पदाधिकारीहरुले नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई स्वागत गरेका थिए ।