भक्तपुर नगरपालिकामा आजबाट मेलम्चीको पानी वितरण शुरु

भक्तपुर, जेठ १२
भक्तपुर नगरपालिकामा बिहिवारबाट मेलम्चीको पानी वितरण शुरु गरिएको छ । भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नं. १ देखी ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरुपमा साँचो खोली बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुरु गरिएको हो ।
सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ शुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आउनुभएको स्मरण गराउनुभयो ।


केयुकेएल भक्तपुरका सुरेन्द्र हिमालय श्रेष्ठले भक्तपुरबासी जनतालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महशुस भएको बताउँदैं यसले भक्तपुरमा खानेपानीको समस्या हल हुने विश्वास व्यक्त गर्नुभयो ।
मेलम्चीको पानी वितरणसँगै भक्तपुरका स्थानीयहरु निकै खुशी देखिएका थिए । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयहरुले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यवाद समेत दिएका थिए । पानी वितरणसँगै ठाउँ ठाउँमा पाइपहरु फुटेर पानी चुहिएको पनि देखिएको छ । त्यसलाई छिटै नै व्यवस्थापन गर्नुपर्ने स्थानीयबासीहरुको माग पनि रहेको छ ।