दुवाकोट सडक एक वर्ष भित्र कालोपत्रे हुन्छ – नगर प्रमुख खत्री

भक्तपुर, जेठ १२
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरको वडा नं. २ स्थित दुवाकोट सडक एक वर्षभित्र कालोपत्रे गरी निर्माण सम्पन्न गरिने बताउनुभएको छ । दुवकोटको केएमसी चोकमा बिहिवार ढल किास व्यवस्थापन कार्यको शिलान्यास गर्दै प्रमुख खत्रीले सल्लाघारीदेखी चाँगु जोड्ने उक्त सडक एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाईने बताउनुभएको हो ।
भक्तपुरको सल्लाघारीबाट चाँगु जाने उक्त सडक दुवकोटमा प्रस्तावित विर अस्पताल जाने मुख्य सडक समेत हो । उक्त सडकले नगरको वडा नं. १, २ ३ र ४ लाई समेत जोड्ने गर्दछ ।
बाटो पहिला नै सम्पन्न हुनुपर्ने हो । तर विभिन्न प्राविधिक कारणले सम्पन्न हुन सकेको छैन । यसलाई निरन्तरता दिँदै छिटो भन्दा छिटो सम्पन्न गर्न अहोरात्र खटेर एक वर्षभित्र कालोपत्रे गरी सम्पन्न गर्नेछौं, उहाँले भन्नुभयो ।
उहाँले जनप्रतिनिधिको काम जनताको दैनिकी सहज गर्ने भएको बताउँदैं जनताको सेवा गर्ने दायित्व र कर्तव्यबाट कहिल्यै पछि नहट्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले ढल निकासको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन समेत दिनुभयो । उहाँले नगरमा सडकको कटान, डुवान जस्ता समस्या रहेको बताउँदैं त्यस्ता समस्या समाधान गर्न घर अगाडिको कुलो, खोल्सा सफा राख्न नगरबासीलाई आग्रह समेत गर्नुभयो ।
प्रमुख खत्रीले बाटो, यातायात, खानेपानीको समस्यालाई विशेष प्राथमिकतामा राखेको जानकारी दिँदैं नागरिकसँग हातमा हात मिलाएर अघि बढ्न नगरपालिका तयार रहेको बताउनुभयो ।