जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको छ – महामन्त्री थापा

भक्तपुर, जेठ ११
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको बताउनुभएको छ । नेपाली कांग्रेस निर्वाचन परिचालन समिति भक्तपुरले बुधवार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिहरुको बधाई तथा सम्मान कार्यक्रममा महामन्त्री थापाले स्थानीय तहको निर्वाचन परिणामले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको पुष्टि भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको पुष्टी स्थानीय तहको निर्वाचनले गरेको छ, यस पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो उपलब्धी र सफलता प्राप्त गरेको छ ।” उहाँले कम्युनिष्ट पार्टीलाई जनताले दिएको विश्वास अनुसार काम गर्न नसक्दा कांग्रेसको लोकप्रियता बढेको बताउँदैं यसलाई निरन्तरता दिन नवनिर्वाचित जनप्रतिनिधिले जनचाहना अनुसार इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले निर्वाचित नगर प्रमुखहरुलाई मेयर साहेब भएर नभई जनप्रतिनिधिको रुपमा जनताको सेवक भएर काम गर्न निर्देशन समेत दिनुभयो । उहाँले जनप्रतिनिधिहरुले गर्ने कामको मूल्यांकन पार्टीले निरन्तर गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको जनप्रतिनिधिको मूल्यांकन पार्टीले गर्छ, तपाई मेयर साहेब होइन, नगर प्रमुख हो, यो कुरालाई नभुल्नुस्, तपाईले जनप्रतिनिधि भएर काम गर्नुहोस । गर्नुपर्ने कति काम गर्नुभयो र गर्नै नहुने कति काम गर्नुभयो कि भएन, त्यसको मूल्यांकन पार्टीले गर्छ, पार्टीले त्यसका लागि मूल्यांकन रिपोर्ट कार्डको व्यवस्था गरेको छ ।” उहाँले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचत जनप्रतिनिधिलाई जनताको गर्नुपर्ने कामलाई कुनै पार्टी विशेष भनेर विभेद नगरी काम गर्न र गर्न नहुने काम कुनै पनि नगर्न निर्देशन दिनुभयो ।
उहाँले पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिनुभयो । मंसिर या फागुनमा हुने गरी आमनिर्वाचनको घोषणा हुन्छ, समय धेरै छैन, त्यसैले आजैदेखि त्यसको तयारीमा लाग्नुस्,” उहाँले भन्नुभयो । उहाँले विगतमा भक्तपुरको उम्मेदवार छनोटमा पार्टीले गलत गरेको टिप्पणी गर्दै आगामी निर्वाचनमा भक्तपुरको चाहना अनुसारको उम्मेदवार छनोट गरिने विश्वास समेत दिलाउनुभयो ।
स्थानीय तहको निर्वाचनको सफलताले देश नयाँ अध्यायमा प्रवेश गरेको भन्दै उहाँले अब एमालेलाई र केपी ओलीलाई गाली र आलोचना गरेर कांग्रेसले समय बर्वाद नगर्ने बताउनुभयो । उहाँले कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदैं जनप्रतिनिधिहरुले नागरिकका हक, जवाफदेहीता, सेवा, नीतिगत व्यवस्था, स्रोतको व्यवस्थापन, समन्वय र संस्थागत विषयमा ध्यान पु¥याएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बिज्ञ, व्यबस्थापन एवं अन्य सहयोग माग भएका पार्टीले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्र्तघात गर्ने जो कोहीलाई छुट नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पार्टीको आधिकारीक उम्मेदवार हराउन लाग्ने, असहयोग गर्नेलाई कारवाही गरेरै छाड्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस पटकको चुनावमा कस कसले कहाँ अन्तर्घात गर्यो पार्टीमा त्यसको रिपोर्ट प्रमाणसहित आएको छ, पार्टीले टिकट दिएका उम्मेदवारलाई हराउन अन्य पार्टीसँग मिलेर भोट बेचेर आफ्नै साथी र पार्टीलाई अन्र्तघात गर्नेहरु अब एकछिन पनि पार्टीमा रहने छैनन्, सबैलाई कारबाही हुन्छ ।” उहाँले दिनभरी कांग्रेसको प्रचारमा हिड्ने, रातभरी एमालेका नेता महेश बस्नेतसँग बसेर पैसामा बिक्नेलाई पार्टीले कारबाही गर्ने बताउँदैं कांग्रेस भित्रको ठेकेदारी प्रथालाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कांग्रेसबाट मध्यपुर नगरपालिकामा प्रमुखमा विजयी हुने सुरेन्द्र श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुखमा निवार्नचित हुने जीवन खत्रीले पार्टीको निर्देशन र संकल्प अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचन परिचालन समितिका संयोजक एवम् नेपाली कांग्रेस भक्तपुरका उपसभापति ब्रिजेश अवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा निर्वाचित कांग्रेसका ६५ जना जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।