सबै राजनीतिक दलहरुसँग सहकार्य गरी अघि बढ्छौं – नगरप्रमुख श्रेष्ठ

भक्तपुर, जेठ ९
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरका सबै राजनीतिक दलहरुसँग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले आज (सोमवार) आयोजित शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै नवनिर्वाचित प्रमुख श्रेष्ठले पार्टीको सिद्धान्त र विचार फरक भएता पनि समृद्ध मध्यपुर थिमि निर्माण गर्न सबै राजनीतिक दलहरुसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको हो ।
उहाँले निर्वाचनमा दलका प्रतिनिधिकारुपमा जनतामा गएपनि निर्वाचित भएपछि साझा जनप्रतिनिधिको रुपमा काम गर्नुपर्ने बताउनुभयो । “यहाँ नेपाली कांग्रेस मात्र होइन नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरु पनि निर्वाचित भएका छन । चुनावमा जाँदै गर्दा राजनीतिक दलको प्रतिनिधिको रुपमा गए पनि निर्वाचित भएर आएपछि मध्यपुर थिमिको साझा जनप्रतिनिधिको रुपमा काम गर्नुपर्छ,” उहाँले भन्नुभयो, “सबै राजनीतिक दलहरुको साझा विचारलाई आत्मसाथ गर्दै एकल नेतृत्व होइन सामूहिक नेतृत्व गरेर अघि बढ्नुपर्छ ।”


उहाँले निर्वाचन घोषणापत्रमा उल्लेख भएको नगरको सेवालाई विभेदमुक्त बनाउने प्रतिवद्धतालाई कार्यान्वयन गर्ने, नगरको खानेपानी, फोहोर व्यवस्थापनलगायतका समस्यालाई क्रमशः समाधान गर्दै लैजाने बताउनुभयो । उहाँले नगरका राम्रा योजनालाई निरन्तरता दिँदैं सम्पदा संरक्षण, व्यवस्थित शहरीकरण, स्वास्थ्यमा सरल पहुँचलगायतका योजना कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वतमान जनप्रतिनिधिको कार्यकालमा भएका राम्रा कामको अनुशरण गर्दै विगतमा गर्न नसकेका काम र कमीकमजोरीलाई सुधार गरेर समृद्ध नगरपालिका निर्माण गर्ने अभियानमा सबै एकतावद्ध भएर अघि बढ्न सबैलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्लाका मूख्य निर्वाचन अधिकृत गोपाल बास्तोलाले मध्यपुर थिमिका केही मतदान स्थल साँघुरो र अफ्ठ्यारो स्थानमा रहेकोले मतदान गर्दा सुरक्षित र सुविधायुक्त तरिकाले मतदान गर्ने वातावरणका लागि ती मतदान स्थल उपयुक्त स्थानमा स्थानान्तरण गर्नका लागि नवनिर्वाचित प्रमुख, उपप्रमुख र राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।


उहाँले काठमाण्डौं उपत्यकाका जनप्रतिनिधिहरुले राजनीतिक दलभन्दा माथि उठेर खानेपानी र फोहोर व्यवस्थापनको समस्यालाई साझा समस्याको रुपमा सहकार्य र समन्वय गरेर समाधानमा जानुपर्ने खाँचो औंल्याउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मध्यपुर थिमिमा बढ्दो शहरीकरण व्यवस्थित गर्नुपर्नेर यहाँको कलासँस्कृतिलाई पर्यटनको आकर्षणको रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो । निर्वाचन अधिकृत मैंया कँडेल र सहायक निर्वाचन अधिकृत केशव सिलवालले निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ, मर्यादित र विवादरहित ढंगले सम्पन्न गर्न सहयोग गर्ने सबै राजनीतिक दल, आम मतदाता, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सम्पूर्णलाई धन्यवाद दिनुभयो ।


कार्यक्रममा मूख्य निर्वाचन अधिकृत बास्तोलाले नवनिर्वाचित प्रमुख श्रेष्ठलाई र श्रेष्ठले उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाउनु भएको थियो ।
शपथ लगत्तै नगरप्रमुख श्रेष्ठलगायतका जनप्रतिनिधिहरु मध्यपुर थिमि–१, लोकन्थलीस्थित वि पि पार्कमा रहेको वि पि को शालिकमा माल्र्यापण गर्नुभएको थियो । सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालगायत नेपाली कांग्रेसका जिल्ला, नगर र क्षेत्रीय समितिका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।
यसैगरी मध्यपुर थिमि नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले आजै पदभार ग्रहण गरेका छन ।