भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुद्वारा शपथ तथा पद्भार ग्रहण

भक्तपुर, जेठ ७
भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले शुक्रवार शपथ ग्रहण गर्दै पदभार ग्रहण गर्नुभएको छ ।
भक्तपुर नगरपालिका कार्यालयको प्रांगणमा सम्पन्न कार्यक्रममा मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिलाई शपथ ग्रहण गराउनुभएको थियो भने प्रमुख प्रजापतिले उपप्रमुख, नगरको १० वटै वडाअध्यक्षलगायत सदस्यहरुलाई शपथ गराउनुभएको थियो ।
सो अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुले पार्टीको घोषणापत्र र जनचाहना अनुसार काम गर्न निर्देशन दिनुभयो । उहाँले जनप्रतिनिधिहरुलाई एम्बुलेन्स र दमकलको सेवा सरह रातदिन जनताको सेवामा खट्न आग्रह समेत गर्नुभयो ।


निर्वाचनमा सिद्धान्तहिन गठबन्धनको कुनै औचित्य नभएको भक्तपुरका जनताले स्पष्ट पारेको बताउँदैं उहाँले देको मिवा ईतापाको जग्गा एकिकरण आयोजना छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनप्रतिनिधिहरुले कुरामा भन्दा काममा ध्यान दिनुपर्ने बताउँदैं भक्तपुर नगरपालिकामा नेमकिपालाई अत्याधिक बहुमतका साथ विजयी गराउन सहयोग गर्नुहुने मतदातालगायतलाई पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
नवनिर्वाचित प्रमुख प्रजापतिले जनप्रतिनिधिहरु सबैको साझा व्यक्तित्व भएको हुँदा कुनै आग्रह र पूर्वाग्रह नराखी कानुनअनुसार छिटो र छरिटो रुपमा काम सम्पन्न गर्ने विश्वास दिलाउनुभयो ।


पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेको कामहरु यस कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले पार्टीले निर्वाचनको समयमा सार्वजनिक गरेको निर्वाचन घोषणापत्र अनुरुप काम गर्ने वाचा समेत गर्नुभयो ।
बागमती प्रदेशका प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले स्थानीय तहको निर्वाचनमा भक्तपुर नपाले हासिल गरेको सफलताबाट सिंगो देश जितेको अनुभव भएको बताउनुहुँदै भक्तपुर नपाका जनप्रतिनिधिहरुले हिजोका दिनमा झैं अविचलित रुपमा जनताको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नर्वाचित जनप्रतिनिधिलाई आगामी कार्यकाल सफलताको शुभकामना दिनुहुँदै मतगणनाको कार्य अरु जिल्लाको तुलनामा भक्तपुरमा छिटो सम्पन्न भएको बताउनुभयो ।


भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचन प्रक्रिया सुधार गर्नुपर्ने, निर्वाचन भएकै ठाउँमा मतगणनाको व्यवस्था गर्नुपर्ने र मतदान केन्द्रहरुको सुधार आवश्यक रहेको बताउनुभयो ।
नगरप्रमुख सुनिल प्रजापतिलगायतका जनप्रतिनिधिहरुले शपथ ग्रहण लगत्तै कार्यालय पुगेर पदभार समेत ग्रहण गरेका थिए । त्यस लगत्तै बसेको भक्तपुर नगरपालिकाको पहिलो बोर्ड बैठकले देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरुमा शाहादत्त प्राप्त गरेका ज्ञात अज्ञात सम्पूर्ण शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै जनअधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनहरूमा घाइते भएका वीर योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेको छ ।


त्यस्तै वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान गरी निर्वाचित गराउनु हुने सम्पूर्ण मतदाता एवम् नगरबासीहरुप्रति आभार व्यक्त गरेको छ । साथै स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुर, मतदान अधिकृतलगायत निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीहरु, प्रशासन, सुरक्षाकर्मीहरु स्वयम्सेवकहरूप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ ।