मोटरसाइकल दुर्घटनामा ४ महिने शिशुको मृत्यु

भक्तपुर, चैत्र २९
भक्तपुरको नलिञ्चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ४ महिने शिशुको मृत्यु भएको छ । साँगाबाट जगातीतर्फ आउँदैं गरेको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई सुर्यबिनायक नगरपालिका वडा नं. ९ नलिन्चोकमा दुर्घटना हुँदा ४ महिने शिशुको मृत्यु भएको हो ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं. १ का २२ वर्षिय बुद्ध तामाङले चलाएको मोटरसाइकल दुर्घटना हुँदा तामाङ, उनका श्रीमती २१ वर्षिया सुस्मिता तामाङ र उनीहरुकी ४ महिनाकी छोरी लोसाङ डोल्मा तामाङ घाईते भएका थिए ।
घाईते शिशुलाई सिद्धि स्मृति अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
दुर्घटनामा घाईते तामाङ दम्पत्तिको डा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि डिस्चार्ज भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रनाउ पाण्डेले बताउनुभयो ।