समाधिस्थल संरक्षणमा जुटे दशनामी समाज

भक्तपुर, चैत्र २९
भक्तपुर र काभ्रेका दशनामीहरु समाधिस्थल संरक्षणमा जुटेका छन । भक्तपुर नगरपालिकाको हनुमानघाटस्थित समाधिस्थल अतिक्रमणमा परेपछि दशनामीहरु संरक्षणमा जुटेका हुन ।
भक्तपुर र काभ्रेको नालाका दशनामीहरुको मृत्युपछि हनुमानघाट क्षेत्रमा शवको समाधि गर्दै आएका छन । सो क्षेत्रमा भक्तपुर नगरपालिकाले जथाभावी फोहोर थुपारिदिने, शवको समाधि गर्ननै समस्या पर्ने गरि ढुङ्गा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामग्रीसहितको माटो थुपार्ने र समाधिस्थलनै कब्जा गर्ने गरि संरचना निर्माणको तयारी गरे पछि दशनामीहरुले समाधिस्थलको सफाई अभियानका साथै संरक्षणमा जुटेको अभियन्ता एवं संस्कृति संरक्षणकर्मी रविन्द्र पुरीले जानकारी दिनु भयो । यसका लागि दशनामीहरु आफै भेला भएका छन् भने संरक्षणका लागि रु. आठ लाख रुपैयाँ आर्थिक सकलन भएको उहाँले बताउनुभयो ।
“सयौ वर्ष अगाडिदेखि दशनामीहरुले यो ठाउँलाई पुर्खाहरु समाधिस्थ गर्दै आएको ठाउँ हो, यसको संरक्षण गर्नु दायित्व हामी दशनामीको त हो नै, कला, संस्कृतिको संरक्षण गर्ने भक्तपुर नगरपालिकाको पनि जिम्मेवारी हो, हामी हाम्रो समाधिस्थलको संरक्षणमा एक भएर जुटेका छौँ,” उहाँले भन्नुभयो ।


सरसफाईका क्रममा करिब १० ट्रक ढुङ्गा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामानहरुलाई निकालेर अन्यत्र व्यबस्थापन गरिएको छ ।
सरसफाईका लागि भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका क्षेत्रको ताथली, सुडाल, वागेश्वरी, छालिङ, चाँगु, काभ्रेको नालालगायतका क्षेत्रका सयौं दशनामीहरु सहभागी भएका थिए ।
दशनामी समाज भक्तपुरका अध्यक्ष मनोज गिरीले दशनामीको समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी गरिरहेको आरोप लगाउँदैं अरुको कला, संस्कृति, परम्परालाई सम्मान गर्न आग्रह गर्नुभयो ।
दशनामीहरुको हनुमानघाटस्थित समाधिस्थललाई व्यवस्थित गर्न एक दशक अघि नै संस्कृति संरक्षणकर्मी रविन्द्र पुरीले गुरुयोजना तयार गरिसकेको छ । तर उक्त गुरुयोजना कार्यान्वयन गर्नेक्रममा नगरपालिकासँग विवाद भएको थियो । विवादपछि सर्वोच्च अदालतमा रिट समेत परेको थियो । सर्वोच्च अदालतले २०७४ सालमा भक्तपुर नगरपालिकाको नाममा आदेश जारी गर्दै दशनामीहरुको समाधिस्थल भित्र कुनै संरचना नबनाउन र समाधिस्थललाई तारबार लगाएर संरक्षण गर्न आदेश जारी गरेको थियो ।
गुरुयोजनामा समाधिस्थल वरिपरी पर्खाल घेर्ने, समाधिस्थलकाबीच भागमा आकर्षक शिव मन्दिरको स्थापना गर्ने, समाधिस्थलको पूर्व भागमा आकर्षक एवं परम्परागत शैलीको किरियापुत्री भवन निर्माण गर्ने, नुहाउनका लागि धाराको ब्यबस्थापन गर्ने, खोलाको किनारमा सिंढी निर्माण गरि घाट ब्यबस्थापन गर्ने र समाधिस्थलमा पार्थिव शरीरलाई व्यबस्थित रुपमा समाधिस्थ गर्ने योजना रहेको छ ।
कूल १९ रोपनी क्षेत्रफलमा फैलिएको समाधिस्थलको पश्चिमपट्टी जहाँ धेरै शव समाधिस्थ गरिएको छ, त्यस स्थानमा नगरपालिकाले सिमेन्टको इँटा ओछ्याएर व्यायाम गर्ने स्थल बनाउने तयारी गरेको बताइएको छ ।
दशनामीले यसको बिरोध गर्दै दशनामीको धर्म, संस्कृति र मृत्युपछिको परम्परा बिरुद्ध कुनै काम नगर्न नगरपालिकालाई आग्रह गरेका छन् । यस समाधिस्थलमा दशनामी समाज अन्तर्गतका गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, आरण्य, तीर्थ, पर्वत र आश्रम एवं जंगम जातिका मृतक व्यक्तिको पार्थिव शरीरलाई समाधीस्थ गर्दै (शव गाड्दै) आईरहेका छन् ।