थिमिको बिस्का जात्रा भित्रका जात्राहरु

लक्ष्मी गारु, भक्तपुर, बैशाख १
बिस्का जात्रा भन्ने वित्तिकै भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैल खः (भैरवनाथको रथ) तान्ने र भेलुखेलमा लिंगो उभ्याउने जात्रा सम्झिन्छौं । तर भक्तपुरको बिस्का जात्रा त्यतिमा मात्र सिमित छैन । मध्यपुर थिमि क्षेत्रमा मनाईने जात्रा पनि बिस्का जात्राको अभिन्न अंग हो ।
मध्यपुर थिमि क्षेत्रमा विशेषगरी चैत्र ३०, बैशाख १ र २ गते विभिन्न चरणमा मनाईने जिब्रो छेड्ने, बत्तिस खटसहितको भुईसिन्हः (सिन्दर) जात्रा पनि उत्तिकै महत्वपूर्ण र प्रसिद्ध रहेको छ ।
मध्यपुर थिमि क्षेत्रमा मनाईने बिस्का जात्राहरुलाई स्थानीय नेवारी भाषामा चान्हसिया जात्रा(रातको जात्रा), बाँय्लिसिया (बेलुकीको) जात्रा र सुँथसिया (बिहानको) जात्राको रुपमा परिचित रहेको छ । थिमिको जात्रामा विभिन्न ३२ देवी देवताको खट समावेश हुने भएकाले यसलाई स्विनिखः (बत्तिस) खटको जात्रा पनि भन्ने गरिन्छ । जात्रालुहरुले एक आपसमा सिन्दुर लगाउने र सिन्दुरको व्यापक प्रयोग हुने भएकाले यस जात्रालाई सिन्दुर जात्राको रुपमा समेत लिईन्छ ।


दक्षिण बाराही जात्रा
यो जात्रा दधिकोट क्वाछेंस्थित दक्षिण बाराहीको नेतृत्वमा बैशाख १ गते राती सञ्चालन हुने गर्दछ । रातको समयमा हुने भएकाले स्थानीय भाषामा यसलाई चान्हसिया जात्रा पनि भनिन्छ । यस जात्रामा दक्षिण बराहीको साथमा दधिकोट हिंचोकस्थित हरिसिद्धी र थिमिको यमलाटोलको अजिमा सहित ३ खटको सहभागिता रहन्छ । स्थानीय गुथियारको घरबाट शुरु हुने यो जात्राले दिगुटोल, लाय्कु ईनायलाछि, मरुटोल, बालकुमारी चोक, शंखधर चोक, क्वाछें लगायतको स्थानको परिक्रमा गर्दछ ।
विष्णुविर गण जात्रा
बैशाख १ गते साँझ स्थानीय विष्णुविर देवताको नेतृत्वमा सुँगाटोलबाट सुरु हुने यस जात्रामा पर्सिक्व गणेश, दताः गणेश, भादे गणेश, थाक्वमा गणेश र गाँताः गणेशगरी ६ वटा खटको सहभागिता रहन्छ । यो जात्रा प्रारम्भ गर्न स्थानीय इनायलाछि टोलको राज गणेशको उपस्थिती अनिवार्य मानिन्छ । राज गणेशको उपस्थिती भएपछि जात्रा प्रारम्भ गरी कयकुतांः, पाँगु, इनायलाछि, निगुपुखु, दिगुटोल, भुलाखेल, वाःननि, पोबू, चोदे, दथुटो, वामुने, तछुटोल, सुंगाः टोल, मरुटोललगायतका स्थानको परिक्रमा गरिन्छ ।
यो जात्रामा अनौठो खालको प्रचलन पनि रहेको छ । जात्राका क्रममा विष्णुविरको खट सुंगा टोलबाट कय्कुतां पुग्दा धिमेबाजा बजाउन नहुने प्रचलन रहेको छ । यस बेला नेवारी समुदायमा शवयात्रा गर्दा बजाईने सि बाजा बजाउनु पर्ने र जात्रामा सहभागी सबैले मलामीको रुपमा टोपी फुकाल्नु पर्ने प्रचलन रहेको छ ।
सिद्धिकाली गण जात्रा
यो जात्रा स्थानीय ईनायक्व टोलबाट सिद्धिकालीको नेतृत्वमा बैशाख १ गते साँझ सुरु हुन्छ । त्यसैले यसलाई स्थानीय भाषामा बाय्लिंसिया अर्थात बेलुकीको जात्रा पनि भन्ने गरिन्छ । विष्णुविर जात्रा प्रारम्भ भएलगत्तै स्थानीय राज गणेशको खट सिद्धिकाली आउँछ र यो जात्रा प्रारम्भ हुन्छ । यस जात्रामा सिद्धिकालीको नेतृत्वमा चोदे गणेश, चपाचो गणेश, क्वसी नाः गणेश, दिगु गणेश, गाँचा गणेश र सिवाः गणेशको सहभागिता रहन्छ । स्थानीय ईनायक्वबाट शुरु हुने यस जात्राले हात्ति महांकाल, कुमाःननि, नासःननि, चपाचो, गार्चा, वाःननि, भुँलाखेललगायतका टोलको परिक्रमा गरिन्छ ।


स्विनिखः (बत्तिस खटको) जात्रा
स्थानीय बालकुमारी मन्दिर प्राङ्गणबाट बैशाख २ गते बिहान शुरु हुने जात्रालाई स्विनिखः (बत्तिस खटको) जात्राको रुपमा लिईन्छ । थिमिको बिस्का जात्राको मुख्य आकर्षण पनि यही जात्रा हो । यसलाई सुथसिया अर्थात बिहानको जात्रा पनि भनिन्छ ।
कुनै समय ३२ खटको सहभागिता हुने भएकाले यसलाई बत्तिस खटको जात्रा भने पनि अहिले विभिन्न कारणले यस जात्रामा २३ खटको सहभागिता हुने गरेको छ । यस जात्रामा मध्यपुर थिमि क्षेत्रका सिद्धिकाली गण, विष्णुविर गण, दक्षिण बाराही गण लगायतका देवी देवताहरुको खट सहभागी हुने गर्दछ ।
यो जात्रा प्रारम्भ गर्न सबै देवी देवताको खट स्थानीय बालकुमारी मन्दिर परिसर आईसक्नु पर्दछ । नगदेशको सिद्धि गणेश आईसकेपछि एक आपसमा सगुन साटासाटगरी जात्रा प्रारम्भ हुने परम्परा रहेपनि केही वर्ष अघि भएको एक घटनाका कारण नगदेशको सिद्धि गणेश थिमि आउन बन्द भएपछि उनको सहभागिता विना नै जात्रा सञ्चालन हुँदै आईरहेको छ ।
बालकुमारीबाट जात्रा प्रारम्भ भएपछि लस्करै खटहरु चपाचोतर्फ लाग्दछ । त्यसपछि सिद्धिकाली गणका देवी देवताहरु चपाचो क्षेत्रको परिक्रमा गर्न जान्छ भने बालकुमारी र विष्णुविर गणका देवताहरु दिगुटोलबाट फर्केर निगुपुखु, इनायलाछि, दथुटोल, मरुटोलको परिक्रमा पछि लायकुमा खट बिसाई जात्रा समापन गरिन्छ ।
सिद्धि गणेश जात्रा
थिमि क्षेत्रको जात्राहरु मध्ये नगदेशको सिद्धि गणेश जात्रा अर्को महत्वपूर्ण र आकर्षण जात्रा हो । थिमिका अन्य भेगमा टोल टोलका देवी देवताहरुको खट बनाई जात्रा हुने गरेता पनि नगदेशमा भने एउटै सिद्धि गणेशको मात्र खट जात्रा गरिन्छ । यो जात्रामा नगदेशका हजारौंको जनसहभागिता हुने भएकाले यो जात्राको रौनक नै बेग्लै हुने गर्दछ । विगतमा बैशाख २ गते बिहान यो खट बालकुमारी आउने परम्परा रहेको थियो । त्यतिखेर नगदेशको टोलीको थिमिमा व्यग्र प्रतिक्षा हुने गर्दथ्यो। नगदेशको ठूलो लावा लस्करले बत्तिस खटको जात्राको रौनक नै फेरिदिने भएकाले नगदेशको प्रतिक्षा व्यग्र हुने गर्दथ्यो ।
सिद्धि गणेशको जात्रा बैशाख १ र २ गते दुई दिन सञ्चालन हुने गर्दछ । बैशाख १ गते राती हुने जात्रालाई स्थानीय भाषामा बाय्लिंसिया जात्रा पनि भन्ने गरिन्छ । स्थानीय लायकुका प्रतिनिधिले सिद्धि गणेशलाई धनिचाः स्वाँ (एक प्रकारको विशेष फुल) चढाएपछि लाछिटोलबाट यो जात्रा प्रारम्भ हुन्छ । यसदिन खटलाई बहाननि, लेंचा, छ्वासो, त्वाःगाः, पाचुननि, कुम्हाःलाछि, न्यागाः, गार्चा लगायतको परिक्रमा गराई पुखुसिमा पुगेर सम्पन्न हुन्छ ।
बैशाख २ गते बिहान अघिल्लो दिनमा झैं नगदेशका विभिन्न भागको परिक्रमा गरी सिद्धि गणेशलाई बहाखामिल रोड हुँदै सानुच्व पु¥याईन्छ । त्यहाँ निलबाराहीसँग पूजा थाप्ने कार्य सम्पन्न गरी टिगनीको विभिन्न भागको परिक्रमा गरी नगदेशको न्याःगाः टोलस्थित द्यः छें प्राङ्गणमा पुगेर जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।
बोडेको जिब्रो छेड्ने जात्रा
मध्यपुर थिमि बोडेमा बैशाख २ गते धुमधामका साथ मनाईने जात्रा हो जिब्रो छेड्ने जात्रा । गतवर्ष झैं यसवर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिने भएको छ ।
बोडेमा जिब्रो छेड्ने जात्रा स्थानीय पाँचो गणेशको पूर्वपट्टि रहेको (बोडे उच्च मा.वि.को उत्तरपट्टी) मञ्चबाट सुरु गरिन्छ । जिब्रो छेड्ने कमी नाइके र नाइके प्रधानको उपस्थिति भएपछि नाय्खिं बाजा बजाएर सुईरो बनाउने नकर्मीलाई लिन जान्छ । एक महिनासम्म तेलमा डुबाएर राखेको सुइरो (जिब्रो छेड्ने सियो) सहित नकर्मी मञ्चमा आउँछ र पुनः नाय्खिं बाजासहितको टोली जिब्रो छेड्ने व्यक्तिलाई तीन पटक सम्म बोलाउन जान्छ । अन्तमा जिब्रो छेड्ने व्यक्ति परम्परागत पोशाक सहित मञ्चमा आउँछन् ।


नाइके प्रधानले पूmल, अक्षता र पैसा सहित दिएको सुइरो (नातु) ले कर्मी नाइकेद्धारा सम्पूर्ण देवतासंग प्रार्थना गरी जिब्रो छेड्ने कार्य गरिन्छ, त्यसपछि भ्यय् (जिब्रो छेड्ने व्यक्तिले बोक्ने चन्द्राकारको बत्ती, महादीप) बाल्छन् । नाय्खिं बाजाको साथमा जिब्रो छेड्ने व्यक्तिले उक्त भ्यय् बोकेर स्थानीय लाछिबाट लायकु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमागरी स्थानीय महालक्ष्मी मन्दिरमा जान्छन् । जहाँ जात्रा गरि महालक्ष्मी स्थान पु¥याएको पाचो गणेशको रोहवरमा कर्मी नाईकेले सुईरो निकाल्ने गरिन्छ र प्वाल भएको जिब्रोमा महालक्ष्मी मन्दिरको माटो राखिदिन्छ । निकालेको सुइरोलाई नकर्मीले गणेश मन्दिरमा ठोकिदिन्छ । अन्तःमा जिब्रो छेड्ने व्यक्तिले नाटेश्वरको पूजा गरी जात्रा विसर्जन गरिन्छ ।
जिब्रो छेड्नेले ब्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपन्छी र आइमाईलाई छुन नहुने परम्परा रहेको छ भने छोएमा जिब्रोे छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास रहेको पाइन्छ । जिब्रो स्थानीय श्रेष्ठ थरका व्यक्तिले मात्र छेड्न पाउने परम्परा रहेको छ ।
निलबाराही जात्रा
बिस्का जात्राको अवसरमा थिमिको टिगनीमा निलबाराही जात्रा सञ्चालन हुने गर्दछ । निलबाराहीको जात्रा पनि बैशाख १ गते बेलुकी र २ गते बिहान गरी दुई दिन सञ्चालन हुने गर्दछ ।
बैशाख १ गते राती स्थानीय तःधं टोलमा राखिएको निलबाराहीलाई सरस्वतीखेल पु¥याईन्छ । त्यहाँबाट फर्काएर पुनः तःधं टोलमा पु¥याएपछि त्यसदिनको जात्रा समापन हुन्छ। भोलीपल्ट बैशाख २ गते बिहान निलबाराहीलाई नगदेशको सिद्धि गणेश र बोडेबाट टिगनी ल्याउने देवताहरुको बाटो हेर्न र स्वागत गर्न स्थानीय सानुच्वमा ल्याईन्छ । त्यहाँ सिद्धि गणेश र महालक्ष्मी गण समेतको सहभागितामा तिगनीको तःधं टोलस्थित डबलीमा बिसाई पुजा थाप्ने कार्य हुन्छ । त्यसपछि विभिन्न भागको परिक्रमा गरि जात्रा समापन गरिन्छ ।
कालिका गण जात्रा
जिब्रो छेड्नेसँगै बोडेमा कालिका जात्रा पनि सञ्चालन हुन्छ । थिमिका अधिकांश जात्रा मुल देवताको नेतृत्वमा हुने गरेतापनि बोडेमा भने बोडेको मुल देवता महालक्ष्मी भन्दा अघि पाचो गणेश राखेर जात्रा सञ्चालन हुन्छ । बोडेबासीले कालिकालाई नगरको नकिं अर्थात थकालीको रुपमा लिईन्छ । त्यसैले बोडेमा हुने खट जात्रामा कालिका सबै भन्दा पछाडी बस्ने गर्दछ । यस जात्रामा पाचो गणेश, हासिमला गणेश, भोरिखा गणेश, तःधिं बाराही, चिँ धिं बाराही, महालक्ष्मी र कालिकाको खट सहभागी हुने गर्दछ ।
यो जात्रा पनि दुई दिन सञ्चालन हुने गर्दछ । पहिलो दिन बैशाख १ गते राती स्थानीय लाछिटोलमा रहेको द्यछेंबाट कालिकालाई मन्दिरमा लगिन्छ । यसक्रममा कालिकालाई मन्दिरमा छाडेर सबै घरघरमा लाग्दछ भने भोली पल्ट बिहानै सुटुक्क कालिकालाई पाचो टोलमा पु¥याईन्छ ।
बैशाख २ गते बिहान जिब्रो छेड्ने जात्रा सम्पन्न भए लगत्तै पाचो टोलबाट यो जात्रा शुरु भई बोडेको लायकु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमा गरि लाछिटोल पुगेर जात्रा सम्पन्न हुन्छ ।
चरखण्डी जात्रा
भक्तपुरको दधिकोटस्थित चरखण्डीमा मनाउने चरखण्डी जात्रालाई पनि मध्यपुर थिमि क्षेत्रकै बिस्का जात्राको एक अभिन्न अंगको रुपमा लिने गरेको छ । विशेषगरी थिमिबाट बसाई सराईका क्रममा चरखण्डी पुगेकाहरुले यो जात्रा शुरु गरेको भन्ने भनाईहरु पाईन्छ ।
यो जात्रामा शुरुमा एक खट रहेको पछि बिस्तार गरी दुई खट बनाएको भन्ने स्थानीय बासिन्दाहरुको भनाई पाईन्छ । तर कुनै लिखित प्रमाण भने पाईएको छैन । यो जात्रा थिमिको बालकुमारी क्वहाँ विज्याकिकु जात्रा सम्पन्न भए लगत्तै चरखण्डी तिर्थस्थलमा खट ल्याई सुरु हुन्छ ।
बैशाख १ गते साँझ चरखण्डी तिर्थस्थलबाट खटलाई पकाण्डोलस्थित डबलीमा बिसाएपछि त्यस दिनको जात्रा समापन हुन्छ । बैशाख २ गते बिहान खटलाई जात्रा गर्दै चरखण्डी तिर्थस्थल लैजान्छ त्यहाँबाट न्यौपाने गाउँ, घैयाटार हुँदै गाम्चा क्षेत्रको परिक्रमापछि पुनः पकाण्डोलको मण्डपमा पुगेर जात्रा सम्पन्न हुन्छ ।
लोहकिल्थलीको सिद्धिकाली जात्रा
लोहकिल्थलीमा २०६७ सालदेखी सिद्धिकालीको जात्रा सुरु भएको हो । बैशाख १ गते साँझ र २ गते बिहान गरी यहाँ पनि दुई दिन जात्रा सञ्चालन हुन्छ । बेशाख १ गते स्थानीय सिद्धिकाली द्यः छेँ परिसरबाट सिद्धिकालीको खटलाई स्थानीय गणेश मन्दिर परिसरमा पु¥याएर ‘द्यः ब्वयकेगु’ गरिन्छ ।
मूख्य जात्रा त्यही गणेश मन्दिर परिसरबाट सुरु हुन्छ । त्यसपछि खटलाई दक्षिणकाली मन्दिर र दिव्यश्वरी मन्दिर परिसरहुँदै ह्याजुटोल, कुटुटोल र स्वास्थ्य चौकी सम्म पु¥याई सोही बाटो फर्काउँदै सिद्धिकाली मन्दिर परिसरमा खट बिसाएपछि जात्रा सम्पन्न हुन्छ ।


भोलीपल्ट बैशाख २ गते बिहान सबै टोलवासीहरुको घरघरबाट पूजा गरिसकेपछि जात्रा सुरु गरी खटलाई प्रजापति टोल, गणेश मन्दिर, दक्षिणकाली मन्दिर, लोहकिल्थली चोक, ह्याजु टोल, कुटू टोल, द्धारे टोल, हेका टोल, कवे टोलको विभिन्न देवी देवताको मन्दिर परिसर हुँदै पुनः सिद्धिकाली द्यःछेँ परिसरमा खट बिसाएपछि जात्रा सम्पन्न हुन्छ ।