बोडेलाई अनिष्टबाट जोगाउन बुद्धकृष्णले नवौं पटक जिब्रो छेडाए

भक्तपुर, बैशाख ३
मध्यपुर थिमि–८, बोडेका ४९ वर्षिय बुद्धकृष्ण बाग श्रेष्ठले शुक्रवार नवौं पटक जिब्रो छेडाएका छन । मध्यपुर थिमिको प्रसिद्ध बिस्काः जात्राको अवसरमा मनाईने बोडेको म्य प्वाः खनेगु जात्रा( जिब्रो छेड्ने जात्रा)लाई निरन्तरता दिँदैं बुद्धकृष्णले जिब्रो छेडाएका हुन ।
स्थानीय पाचो गणेश मन्दिर परिसरमा उपस्थित हजारौंको भिडका सामु बुद्धकृष्णले करिव एक फिट लामो सुइरोले जिब्रो छेडाएका थिए । जिब्रो छेडिसकेपछि बुद्धकृष्ण काँधमा भ्वय् (बाँसले बनेको अर्धचन्द्राकार महादीप) बोकेर बोडे शहर परिक्रमा गरेका थिए ।
जिब्रो छेडाएपछि बुद्धकृष्ण महादिप काँधमा बोकेर पाचो गणेशबाट तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननीलगायतका टोल परिक्रमागरी महालक्ष्मी मन्दिरमा पुग्नुभएको थियो । महालक्ष्मी स्थान पु¥याएको पाचो गणेशको रोहवरमा कर्मी नाईकेले बुद्धकृष्णको जिब्रो छेडेको सुईरो निकालेर जिब्रोको प्वालमा महालक्ष्मी मन्दिरको माटो राखिदिएका थिए । निकालेको सुइरोलाई नकर्मीले गणेश मन्दिरमा ठोक्नुभएको थियो । बुद्धकृष्णले नाटेश्वरको पूजा गरे पछि यसवर्षको म्य प्वाः खनेगु जात्रा समापन भएको थियो ।


उहाँले यसअघि २०६२ सालदेखी ०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए । २०६६ सालमा श्रीमती सुत्केरी भएपछि बुद्धकृष्णले जिब्रो छेड्न बन्द गरेका थिए । बुद्धकृष्णले जिब्रो नछेडाउने घोषणा गरेपछि जात्रालाई निरन्तरता दिन जुजुभाई बासँ श्रेष्ठले जिब्रो छेडाएका थिए । जुजुभाईले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए । २०७३ सालमा जुजुभाईका श्रीमति र भाउजु दुवै बिरामी भएकाले उहाँले जिब्रो नछेड्ने घोषणा गरे । त्यसयता निरन्तर बुद्धकृष्णले पुनः जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैं आउनुभएको छ ।
परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष नवौ पटक आफूले बिज्रो छेडाएको बुद्धकृष्णले बताउनुभयो । उहाँले यो वर्ष आफुले अन्तिम पटक जिब्रो छेडाउने र अर्को वर्षदेखी नछेडाउने घोषणा गर्दै अर्को वर्षदेखी नयाँ पुस्ताका युवाहरुलाई जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङकालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्या अनुसार बोडेभरि पासो राखिदिए । उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरे । त्यसपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजे ।
बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा प¥यो । भीमदत्तले लामो कपाल, लामो जिब्रोे, डरलाग्दो पिचास नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए ।
पिशाचको जिब्रोे छेडी बलेको महादीप काठकोे भारी बोकाएर बोडे घुमाए । कष्ट सहन नसकी पिचासले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझै विभिन्न सातवटा वाचा गराई छाडिदिएको किंबदन्ती छ ।
किम्बदन्ती अनुसारै एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रोे छेड्नु अगाडि पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ । वाचा अनुसार सात पटकसम्म पिचासको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि भीमदत्त कर्माचार्यले सोही अनुरुप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको किंवदन्ती उल्लेख छ ।
जात्राको हालसम्म प्राप्त प्रमाण अनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको ईतिहास रहेको छ । विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँश्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन पटक, २०२७ र २०२८ मा इन्द्रबाटा श्रेष्ठले दुई पटक जिब्रो छेडाउनुभएको तथ्यांक छ ।
त्यस्तै २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले, २०४८ मा धर्मराज बलाय श्रेष्ठले, २०४९ देखि २०६० सम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडाएको ईतिहास रहेको छ । पछिल्लो १८ वर्षमा यसवर्ष सहित बुद्धकृष्णले ९ र जुजुभाईले ८ पटक जिब्रो छेडाएको अभिलेख छ ।

तस्विर ः रत्न श्रेष्ठ