सुरक्षा निकायबाट भक्तपुरका मतदान केन्द्रको निरीक्षण

भक्तपुर, चैत्र २१
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर र सुरक्षा निकायले संयुक्तरुपमा मतदान केन्द्रहरुको निरीक्षण थालेको छ । भक्तपुरमा निर्वाचन केन्द्रीत सुरक्षा रणनीति निर्माणका लागि जिल्ला प्रशासनको नेतृत्वमा सुरक्षा निकायको संयुक्त टोलीले मतदान केन्द्रको निरीक्षण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले आइतवार जिल्लाको विकट मानिने सूर्यविनायक नगरपालिका—८ नैचाल भञ्ज्याङस्थित सरस्वती आधारभुत विद्यालय, वडा नंं ९ को काँक्राबारीस्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्र, वडा नं. ९ नंखेलस्थित श्रीराम आधारभुत विद्यालय र पुरानो गाविस भवन भुवनेश्वरी माध्यामिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा टोलीले मतदात केन्द्र निर्धारण गरिएका स्थानको भौतिक पुर्वाधार, सम्भावित सुरक्षा खतरा, अपाङ्गता तथा ज्येष्ठ नागरिक मैत्री भए नभएको बारेमा अनुगमन गरिएको थियो ।
निर्वाचन हुने स्थान तथा केन्द्रहरुमा शान्ति सुरक्षाका लागि अपनाइनुपर्ने सुरक्षा रणनीतिलाई मध्यनजर गर्दै प्रशासनको नेतृत्वमा मतदान केन्द्रको निरीक्षण गरिएको प्रजिअ शर्माले बताउनुभयो ।
टोलीमा जिल्ला निर्वाचन अधिकारी, महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेना र नेपाल पत्रकार महासंघ भक्तपुरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसअघि चैत्र १६ गते प्रजिअ नेतृत्वको टोलीले चाँगुनारायण नगरपालिका वडा नं ८ भित्र पर्ने मतदान स्थलहरू सरस्वती मा. वि थाकलमाठ, महेन्द्र मा. वि, साविक गा. वि. स भवन सुडाल हालको वडा नं ८ को कार्यालय तथा महानगरीय प्रहरी प्रभाग सुडाल र वडा नं ९ को गणेश मा. वि ताथलीको अनुगमन गरेको थियो ।


यस्तै प्रजिअ शर्मा नेतृत्वको सुरक्षा निकायको टोलीले मध्यपुर थिमि नगरपालिका भित्रका मतदान स्थलहरु कृषि विकास वैक तालिम केन्द्र, हिमालय युवा क्लब वोडे, वोडे मा वि लायकु, लाछी लायकुु नगदेश, गणेश मा वि नगदेश, कुम्हालक्ष्मी पाटी नगदेशको निरीक्षण गरिसकेको छ ।
भक्तपुरमा ७७ मतदान स्थलमा २१९ मतदान केन्द्र तोकिएका छन । जसमध्ये मध्यपुर थिमि नगरपालिकामा १७ मतदानस्थल ४६ मतदान केन्द्र, भक्तपुर नगरपालिकामा १६ मतदानस्थल ६२ मतदान केन्द्र, चाँगुनारायण नगरपालिकामा २१ मतदानस्थल ५३ मतदान केन्द्र र सूर्यविनायक नगरपालिकामा २३ मतदानस्थलमा ५८ मतदान केन्द्र निर्धारण गरिएको छ ।