तेजकृष्ण नानीमाया सिरपाद्धारा कलाकारहरु श्रेष्ठ, थकु र बस्नेत पुरस्कृत

भक्तपुर, चैत्र २०
यसवर्षको तेजकृष्ण नानीमाया सिरपा नेपाल भाषाका वरिष्ठ हाँस्यव्यंग्य कलाकारहरु अन्नपुर्णश्वरी श्रेष्ठ, आशाकाजी थकु र अशोक बस्नेतलाई प्रदान गरिएको छ । दवुलि नेपाल मध्यपुरले शनिवार नेपाल भाषाको हाँस्यव्यंग्य क्षेत्रमा गरेको अतुलनिय योगदानको मूल्यांकन गर्दै उक्त सिरपा प्रदान गरिएको हो । सिरपाको नगद राशी जनही १० हजार रुपैंयाँ रहेको छ ।
नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले कलाकारहरु श्रेष्ठ, थकु र बस्नेतलाई उक्त सिरपा हस्तान्तरण गर्नुभयो ।
यसैगरी दवुलि नेपालले मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई अभिनन्दन गरेको छ । नगरप्रमुख श्रेष्ठले सम्पदा संरक्षणमा उत्कृष्ट कार्य गरेको भन्दै दवुलि नेपालले नेवारी परम्पराअनुसार १२ हात लामो वेतली (शिरमा लगाउने विशेष पोशाक) लगाईदिएर ताम्रपत्रद्धारा अभिनन्दन गरेको हो । प्रमुख श्रेष्ठलाई वरिष्ठ कलाकार हरिराम जोशीले वेतली लगाई दिई अभिनन्दन गर्नुभएको हो ।


नेपाल भाषा, कला संस्कृति संरक्षणमा कार्य गर्दै आइरहेको दवुलि नेपालले नेवारी लोकबाजा मुहालिको संरक्षणका लागि निर्माण गरिएको मुहालि बाजा वृत्तचित्र समेत शनिवार सार्वजनिक गरेको छ ।
सो अवसरमा जोशीले मध्यपुर थिमि नगरपालिकाले उपत्यका अन्य स्थानीय तहको तुलनामा सम्पदा संरक्षणमा उल्लेख्य कार्य गरेको बताउनुभयो । उहाँले भाषा, कला सँस्कृतिको संरक्षण गर्न सके मात्र जातिको अस्तित्व रहने बताउँदैं नेपाल भाषाको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।


मध्यपुर थिमिमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले पाँच वर्ष कार्यकालमा सम्पदा संरक्षणमा देखिने गरी कार्य गर्न सफल भएको बताउनुभयो । उहाँले अझै पनि मुर्त र अमुर्त सम्पदाको फ्युजन गरेर कला संस्कृतिलाई आम मानिसको जनजिविकासँग जोडेर आय आर्जन स्रोत बनाउन बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले मुहालि बाजालाई विशेष गरी भारतले सहनाईसँग जोडर आफ्नो मौलिक बाजा बनाउन खोजेको बताउँदैं मुहालि बाजा सहनाईसँग नमिल्ने र नेपालको त्यो पनि नेवार समूदायको मौलिक बाजा रहेको बताउनुभयो । आधुनिक र विदेशी बाजाले युवा वर्गलाई आकर्षित गर्दै लगेकोले नेपालको मौलिक बाजा लोप हुँदैं गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।


नेवाः देय् दवुमा नवनिर्वाचित अध्यक्ष पवित्र बज्राचार्यले नेपाल भाषा, कला संस्कृतिको पक्षमा धेरै काम गर्न बाँकी रहेको बताउँदैं यसको संरक्षणमा एक आपसमा सहकार्य गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
दवुलि नेपालका अध्यक्ष सन्तोष प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेवाः नुगः नामको नाटक प्रर्दशन गरिएको थियो । साथै मुहालि बाजा वृत्तचित्र निर्माणमा सहयोग गर्ने गुंगचिवा दाफा भजन खलः, नगदेश साँस्कृतिक पुचः, सिवा सायमी खलः, मुहालि बाजा समूह बालकुमारी थिमि, चपाचो धा बाजा खलः, पछिमा बाजा खलः चपाचो थिमि, सुरेश ख्वाक श्रेष्ठ, विज्ञान श्रेष्ठ, बालमुकुन्द प्रजापति, गणेशराम लाछिलाई पनि कदरपत्रद्धारा सम्मान गर्नुका साथै दवुलि स्मारिका विमोचन गरिएको थियो ।