पर्यटन बोर्डमा मध्यपुर थिमिको बिस्काः जात्रासम्बन्धी तीन दिने फोटो प्रदर्शनी हुने

भक्तपुर, चैत्र १९
मध्यपुर थिमिको प्रसिद्ध बिस्काः जात्रासम्बन्धी तीन दिने एकल फोटो प्रदर्शनी हुने भएको छ । राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो पत्रकार रत्न श्रेष्ठले काठमाण्डौं भृकुतीमण्डपस्थित पर्यटन बोर्डमा थिमिको बिस्काः जात्रासम्बन्धी फोटो प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनी यही चैत्र २२, २३ र २४ गते हुनेछ ।
प्रदर्शनीमा चैत्र मसान्तको दिन मनाईने जात्राको महत्वपूर्णकार्यक्रम गुँसी छ्व्येकेगु जात्रादेखी बालकुमारीलाई लाय्कुबाट मन्दिरमा ल्याईने चान्हसिया (राती)को जात्रा, दिउँसोको जात्रालगायत थिमिको नगदेशको सिद्धि गणेश जात्रा, बोडेको जिब्रो छ्ड्ने जात्रा र टिकनीको निलबाराही जात्राको समेत गरी विभिन्न ७० वटा फोटो प्रदर्शनीमा रहने पत्रकार श्रेष्ठले शनिवार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
प्रदर्शनीले मध्यपुर थिमिमा हुने बिस्काः जात्राका विविध पक्ष बारे उपत्यकाका बासिन्दालाई जानकारी हुने र थिमिको बिस्का जात्रामा उपत्यकाका विभिन्न स्थानका बासिन्दाहरु अवलोकनका आउने अपेक्षा गरिएको श्रेष्ठले बताउनुभयो । ‘थिमिको बिस्काः जात्रा भन्ने बित्तिकै बोडेको जिब्रो छेड्ने जात्रा मात्र हो की भन्ने भ्रम पनि रहेको छ । यो प्रदर्शनीले त्यो भ्रम चिर्ने छ भन्ने विश्वास लिएको छु,’ श्रेष्ठले भन्नुभयो ।
श्रेष्ठले यसभन्दा अघि चीनमा दुई पटक, मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवसमा एक पटक, मध्यपुर सञ्चार समाजको आयोजनामा भूकम्प सम्बन्धी एकल फोटो प्रदर्शनी गरिसकेको छ ।
पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले थिमिको बिस्काः जात्राको प्रचार प्रसारमा फाटो प्रदर्शनी कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसवर्षको बिस्काः जात्रामा शताब्धी पुरुष सत्यमोहन जोशीलगायत विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई अवलोकन गराउने तयारी भइरहेको जानकारी दिनुभयो ।