मध्यपुर थिमिको बालकुमारी चोकमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने

भक्तपुर, चैत्र १९
मध्यपुर थिमिको बालकुमारी चोकमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । आयोजक ओस्ला नेपालले शनिवार थिमिमा पत्रकार सम्मेलन गर्दै यही चैत्र २६ गते उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने जानकारी दिएको हो ।
ओस्लाले आयोजना गर्न लागेको यो छैंटौं धिमे बाजा प्रतियोगिता हो । यसअघि पहिलो दुई पटक मध्यपुर थिमि नगरव्यापी, तेस्रो र चौंथो प्रतियोगिता भक्तपुर जिल्ला व्यापी गरिएको आयोजक ओस्ला नेपालका उपाध्यक्ष एवम् धिमे बाजा प्रतियोगिताका संयोजक सुशिल जोशीले जानकारी दिनुभयो ।
प्रतियोगितामा उपत्यकाका करिव तीन दर्जन धिमे खलः वा पुचः सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिए । एउटा खलः वा पुचःबाट बढीमा दुई टोलीको सहभागिता हुनेछ । एउटा टोलीमा धिमे २, भुस्या २ र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच जना बाद्यबाधकको सहभागिता हुनेछ । प्रत्येक सहभागी टोलीलाई पाँच मिनेटको समय दिईने र सहभागी टोलीले पाँच मिनेटको समयावढीभित्र प्रस्तुती टुंग्याउनु पर्नेछ ।


प्रतियोगितामा ५ जनाको निर्णायक टोली रहनेछ । निर्णायक मण्डलले प्रस्तोता टोलीको अनुशासन, हाउभाउ, समयको परिपालना, भेषभुषा, प्रष्टता, बोल, ताल र लयको आधारमा अंक प्रदान गर्नेछ ।
प्रतियोगिताको विजयी टोली मध्ये प्रथम हुनेलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दुई टोलीलाई सान्त्वना पुरस्कार स्वरुप मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी सबै टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने ओस्लाका सचिव रोशन बज्राचार्यले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालनको लागि करिव ६ लाख २० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि मध्यपुर थिमि नगरपालिकाले ३ लाख ५० हजार नगद सहयोग गर्ने भएको छ ।


प्रतियोगितालाई सफल बनाउन अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको र मूल समिति अन्तर्गत सुशिल जोशीको संयोजकत्वमा कार्यक्रम समिति, प्रचार प्रसार उपसमिति, आर्थिक उपसमिति, अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, प्राथमिक उपचार तथा स्वयम्सेवक उपसमिति, खाना, खाजा तथा जलपान उपसमिति गठन गरिएको सचिव बज्राचार्यले जानकारी दिनुभयो ।
मध्यपुर थिमि क्षेत्रको लोपोन्मुख मुर्त अमुर्त सम्पदाहरु, कला संस्कृति, परम्परागता लोकबाजाहरु, मौलिक साँस्कृतिक तथा धार्मिक लोक नृत्यहरुको खोज, संरक्षण, सम्बद्र्धन तथा पुनः सञ्चालन गर्ने संस्था उद्देश्य अनुरुप धिमे बाजा प्रतियोगितालाई निरन्तरता दिँदैं आएको ओस्लाका अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।


पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सम्पदाहरुको पुनःनिर्माणसँगै सँगै त्यसलाई आयआर्जन गर्ने थलो र विभिन्न कार्यक्रम आयोजना गरी कार्यक्रम स्थलको रुपमा समेत फ्यूजन गरेर अघि बढेको बताउनुभयो ।
मध्यपुर थिमिमा पर्यटनको सम्भावना प्रचुर मात्रामा भएपनि पुर्वाधारहरुको कमी रहेको बताउँदैं यहाँको सम्पदा पुनःनिर्माणसँगै पर्यटकलाई आवश्यक सार्वजनिक शौचालय, होटल रेष्टुरेन्टलगायतका पुर्वाधारको विकास सँगैसँगै लानुपर्ने खाँचो रहेको औंल्याउनुभयो ।
तस्विर ः नन्दु श्रेष्ठ