स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया शुरु गर्ने नेपाली कांग्रेस भक्तपुरको तयारी

भक्तपुर, चैत्र १९

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया शुरु गर्ने तयारी गरेको छ । त्यसका लागि शनिवार पार्टी जिल्लाका पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति र नगर सभापतिहरुको बैठक बोलाएको स्रोतले जानकारी दिएको छ ।
केही सञ्चारमाध्यमहरुमा नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले उम्मेदवार टुंग्याउने समय तालिका निर्धारण गरेको भन्ने व्यहोरोको समाचार प्रकाशन भएको थियो । सो सम्बन्धमा जिल्लाका पदाधिकारीहरुले कांग्रेस कार्यबहाक सभापति एवम् ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कासँग टेलिफोन सम्पर्क गरी जानकारी लिएको स्रोतले बताए ।
खड्काले समाचारमा आए अनुसार नै भएको जानकारी दिएपछि नेपाली कांग्रेस भक्तपुरले उम्मेदवार छनोटको प्रक्रिया शुरु गर्ने तयारी गरेको हो । ‘कुनै लिखित परिपत्र आएको छैन । उपसभापति पूर्णबहादुर खड्कासँग टेलिफोन सम्पर्क हुँदा तयारी गर्नु भन्ने निर्देशन भएको छ । सोही अनुसार उम्मेदवार छनोटको प्रक्रिया शुरु गर्ने तयारी भएको हो,’ कांग्रेसका एक जिल्ला पदाधिकारीले भने ।
नेपाली कांग्रेसको विधानको दफा ३२ को उपदफा १ ले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँ, नगर वडाका सदस्य र अध्यक्षको उम्मेदवारी टुंगो गर्ने व्यवस्था छ । त्यस्तै उपदफा २ ले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी जिल्ला कार्यसमितिले गठन गर्ने संसदिय समिति, उपदफा ३ मा नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारी प्रदेश कार्यसमितिले गठन गर्ने संसदिय समिति र उपदफा ४ मा महानगरपालिका प्रमुख उपप्रमुखको उम्मेदवारी केन्द्रीय समितिको संसदिय समितिले गर्ने व्यवस्था छ ।