ताथलीमा माटोको ढिस्कोले पुरिएर दुई जनाको घटनास्थलमा नै मृत्यु

भक्तपुर, चैत्र १८
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा माटोको ढिस्कोले पुरिएर शुक्रवार २ जनाको मृत्यु भएको छ । ताथलीको नालाछापमा जग्गाा प्लटिङको लागि पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ९ घर भई ताथली बस्ने ३२ वर्षिय चतुरमान तामाङ र काभ्रेपलाञ्चोककै चौरी देउराली गाउँपालिका ३ घर भई ताथली बस्ने ५० वर्षिय वर्षमान तामाङ छन ।
माटोले पुरिएका दुवै जनालाई स्थानीय बासिन्दा र प्रहरीले स्काभेटर प्रयोग निकालेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । ‘माटोले पुरिएका दुवै जनालाई स्काभेटर प्रयोग गरी निकाल्दा मृत्यु भइसकेको थियो,’ उहाँले भन्नुभयो ।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्माका अनुसार प्लटिङको बारेमा समेत अनुसन्धान भइरहेको छ । ‘जग्गा प्लटिङको क्रममा दुर्घटना भएको भन्ने जानकारी आएको छ,’ उहाँले भन्नुभयो, ‘प्लटिङ हो भने त्यसको वैधानिकताको बारेमा पनि अनुसन्धान भइरहेको छ ।’
प्लटिङको अनुमति छ छैन, छ भने कुन निकायले दिएको हो सो बारेमा समेत अनुसन्धान भइरहेको बताउँदैं प्रजिअ शर्माले यसबारेमा नगरपालिका र काठमाण्डौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयमा समेत बुझ्ने कार्य भइरहेको जानकारी दिनुभयो ।