स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने कांग्रेसको निर्णय

भक्तपुर, चैत्र १५
नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने नीतिगत निर्णय गरेको छ । नेपाली कांग्रेसको मंगलवार सम्पन्न केन्द्रीय समिति बैठकले स्थानीय अवस्था र आवश्यकता अनुरुपमा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको हो ।
‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुपमा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ ।
बैठकले स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रकृया अनुरुप कार्य अघि बढाइने निर्णय गरेको छ ।
यस्तै, बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ । समिति सदस्यहरु भने सभापति देउवाले आवश्यक परामर्श लिई पूर्णता दिने जनाइएको छ ।


बैठकले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले २०७८ फागुन ३० गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरूलाई अनुमोदनसमेत गरेको छ ।
संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धीको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न लिएको पहलकदमी एवं कांग्रेस नेतृत्वको सरकारले निर्वाह गरेको प्रभावकारी भुमिका, नेपालको वैदेशिक सम्बन्धका सन्दर्भमा सन्तुलित र परिपक्व भुमिका, संयमित र समन्वयकारी राजनैतिक व्यवहार तथा नेपाली कांग्रेसले नेतृत्व गरेको स्थानीय तहमा निर्वाह गरेको जिम्मेवार, जनमुखी र प्रभावकारी भुमिकाका कारण नेपाली काँग्रेस आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रव्यापी रूपमा बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको बैठकको निष्कर्ष रहेको छ । पार्टीले संचालन गरेको स्थानीय तह निर्वाचन केन्द्रीत ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानले नेपाली कांग्रेस पार्टीको विजयको आधारलाई थप व्यापक र मजवुत बनाउँदै लगेको निष्कर्ष निकाल्दै बैठकले अझै थप उत्साह साथ निर्वाचन अभियानमा जुट्न अपिल समेत गरेको छ ।