जुनियर फुटसलमा ईडेन च्याम्पियन

भक्तपुर, चैत्र १५
अन्तर विद्यालय भक्तपुर जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगितामा ईडेन गार्डेन स्कुल च्याम्पियन बनेको छ । प्रतियोगिताको मंगलवार सम्पन्न फाइनलमा आरक्षण नेशनल एकेडेमीलाई २–० गोलले पराजित गर्दै ईडेन च्याम्पियन बनेको हो ।
नेशनल प्याव्सन भक्तपुरले सदस्य विद्यालयहरु बीच आयोजना गरेको प्रतियोगितामा क्वालिटी स्कुल तेस्रो तथा एसएस सदन स्कुल र मदल्याण्डले फेयर प्ले अवार्ड प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा आरक्षण नेशनल एकेडेमीका आर्यन बुढाथोकी र उत्कृष्ट गोल रक्षकमा क्वालिटी स्कुलका सुमन तामाङ घोषित भए ।
विजेता टोली र विद्यार्थीहरुलाई नेशनल प्याव्सनका अध्यक्ष पाण्डब हमाल, केन्द्रीय सहकोषाध्यक्ष बिक्रम ढुकुछु, केन्द्रीय सदस्य जीबी खड्का, बागमती प्रदेश उपाध्यक्ष पुण्यराम कवां र नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पुरस्कार प्रदान गरे । दुई दिन चलेको प्रतियोगितामा भक्तपुरका १६ विद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक सुमन शिल्पकारले जानकारी दिए ।