आफ्नै तस्विर र नागरिकता हेरेर दंग परिन, १७ वर्षिय अशक्त युवती अनुपमा

भक्तपुर, चैत्र २४
घरको भुईतल्लाको एक कोठामा पलङ्गमाथी बसिरहनुभएकी युवतीले कोठामा प्रवेश गर्नुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहितको टोलीलाई नमस्कार गर्नुभयो । प्रजिअ शर्माले नमस्कार फर्काउना साथ युवतीले तोतेबोली बोल्दै हातको ईशाराले बोल्ने कोशिश गर्नुभयो, तर उहाँको बोली र ईशारा प्रजिअ शर्माले बुभ्mनु भएन ।
प्रजिअ शर्माले के भन्नुभएको भनी प्रश्न गर्नुभयो, तर युवतीले कुनै प्रतिक्रिया दिनुभएन । किनकी उहाँ बोल्न सक्नुहुन्न । उहाँको श्रवणशक्ति शुन्य रहेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १, सिरुटारकी १७ वर्षिया अनुमपा मिश्रमा जन्मजातै अपाङ्गताको समस्या छ । उहाँ हिँडडुल गर्न समेत सक्नुहुन्न । पक्षघातले उहाँको कम्मरमुनीको भाग चल्दैन । शारीरिक अशक्तताका कारण अनुपमाले उमेर पुगेपनि नागरिकता पाउनुभएको थिएन ।


त्यस्तै सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट चर्खण्डीका ९१ वर्षिय वृद्धा सूर्यबहादुर खड्का ओछ्यान परेको पाँच वर्ष भयो । औषधीको प्रतिक्रियाले दुवै आँखाको दृष्टि गुमाएका खड्का हिँडडुल गर्न सक्नुहुन्न । निमोनियाले समेत पिडित खड्कालाई ओछ्यानमा २४ सै घण्टा अक्सिजन दिनुपर्दछ । उहाँले नागरिकता हराउनुभयो । उहाँले पनि शारीरिक अशक्तताकै कारण नागरिकताको प्रतिलिपि लिन सक्नुभएको थिएन ।
अशक्त र अपाङ्गता भएकै कारण उमेर पुगेपनि अनुपमाले नागरिकता लिन नसकेको र सूर्यबहादुरले नागरिकताको प्रतिलिपि लिन नसक्नुभएको जानकारी पाएपछि प्रजिअ शर्माले दुवै जनालाई घरमै पुगेर नागरिकता दिने निर्णय गर्नुभयो । सोही अनुसार बुधवार साँझ कार्यालय समयपछि प्रजिअ शर्मासहितको टोली उहाँहरुको घरमा पुग्नुभयो र दुवै जनालाई नागरिकता प्रदान गर्नुभयो ।


प्रजिअ शर्माले नागरिकता प्रदान गरेसँगै आप्mनै तस्विर र नागरिकता देखेर अनुपमा दंग पर्नुभयो र हातको ईशाराले प्रजिअ शर्मालाई मेरो तस्विर भन्दै देखाउनुभयो । अनुपमाले प्रजिअ शर्माको गलामा झुण्डिएको परिचय पत्र हेर्दै फेरी आफ्नो नागरिकता देखाउनुभयो ।
असाह्य, अशक्तलाई घरदैलोमा नै पुगेर सेवा दिने सरकारी नीति अन्तर्गत उहाँहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ शर्माले बताउनुभयो । “आवश्यक परे सरकार घरदैलोमा पुगेर सेवा दिन्छ भन्ने सन्देश दिन पनि नागरिकता, अपांगता परिचयपत्र सेवाग्राहीको घरमै पुगेर प्रदान गर्ने नीति सरकारको छ,” उहाँले भन्नुभयो ।
नागरिकता हराएकोले प्रतिलिपी माग गरेको सूर्य बहादुरका छोरा श्रीकृष्ण खड्काले बताउनुभयो । श्रीकृष्णले पिता सूर्य बहादुरको नागरिकताको प्रतिलिपि माग गरेपछि प्रशासनले आवश्यक छानविन गरी, सत्य तथ्य पत्ता लगाएर घरमै पुगेर सेवा दिने निर्णय गरेको प्रजिअ शर्माले बताउनुभयो । त्यस्तै अनुमपाकी पिता उद्धव प्रसाद मिश्रले छोरीको नागरिकता माग गरेपछि नागरिकता प्रदान गर्न प्रजिअ शर्माको टोली मिश्र निवास पुग्नुभएको हो ।


भक्तपुरमा अझै पनि समयमा घटना दर्ता नगर्ने, नागरिकता जस्ता जन्मसिद्ध अधिकार प्राप्ति नगर्ने प्रवृत्ति रहेको र यस्तो प्रवित्तिले महिलाहरु अधिकारबाट वञ्चित हुनुपर्ने, सम्पत्तिको हक हस्तान्तरणमा समस्या आउने गरेको प्रजिअ शर्माले बताउनुभयो । उहाँले नागरिकले समयमा घटना दर्ता गर्ने, नागरिकता, विवाहदर्ता लगायतका आवश्यक कागजपत्र समयमा लिन आह्वान गर्नुभयो ।
खड्का र मिश्रलाई नागरिकता प्रदान गर्ने प्रजिअ शर्माको नेतृत्व टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, भक्तपुर प्रहरी प्रमुख शिवकुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय प्रशासकिय अधिकृतहरु, नागरिकता फाँटका कर्मचारीहरु सहभागी थिए ।