चाँगुनारायण बालमैत्री नगर घोषणा

भक्तपुर, फागुन २७
चाँगुनारायण नगरपालिकालाई शुक्रवार बालमैत्री नगर घोषणा गरिएको छ । नगरपालिकाको छैंटौं स्थापना दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शुक्रवार चाँगुनारायणलाई बालमैत्री नगर घोषणा गर्नुभएको हो ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले बालबालिकाहरु भविष्यका संवाहक भएकाले स्थानीय तहले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले बालमैत्री घोषणा गरेर मात्र नपुग्ने बताउँदैं पाँच वर्षे होइन २५ वर्षिय योजना निर्माण गरी स्थानीय तहले आवश्यक बजेट व्यवस्था गरी बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको हो ।
“भोलीको मेयर, कर्मचारी, खेलाडी, प्रधानमन्त्री, राष्ट्रपति, न्यायधिश, कलाकार, गितकार बन्ने सबै आजका बालबालिका हुन । त्यसैले बालबालिकाको भविष्य सुनिश्चित गर्न आज लगानी गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले बालमैत्री घोषणा गर्दाका सूचांकहरुलाई निरन्तरता दिँदैं गयौं भने भोली साँच्चिकै राष्ट्रका हरेक क्षेत्रमा चाँगुनारायणका नागरिक पुग्ने र राष्ट्रियस्तरमा मात्र नभई अन्तराष्ट्रियस्तरमा नै सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बालमैत्री नगर घोषणा गरेर मात्र नपुग्ने बताउँदैं बालबालिकाहरुमा रहेको क्षमताको विकास गरी उसको रुची अनुसारको विषयमा अगाडि बढ्ने अवसर दिनुपर्नेमा जोड दिनुभयो । “बाबालिकासँग के क्षमता छ ?, बालमैत्री घोषणा भएको अवस्थामा अभिभावकहरुले, शिक्षकहरुले, समाजका अगुवाहरुले बालबालिकाहरुसँग के क्षमता छ, पढाई त चाहिन्छ नै त्यो सँगै उसको रुची खेलमा छ की, साहित्यमा छ की, कलामा छ की, पत्रकारितामा छ की, कुन क्षेत्रमा छ, त्यो रुची बुझेर अगाडि बढाऔं,” उहाँले भन्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा सकिन्छ भने भक्तपुर जिल्लामा सकिँदैन भने चाँगुनारायण नगरपालिकामा सबै दलका उम्मेदवारहरुले एउटै मञ्चबाट मत माग्न आग्रह गर्नुभयो । उहाँले घरदैलो कार्यक्रममा एक्ला एक्लै गए पनि सार्वजनिकरुपमा एउटै मञ्चबाट मत माग्न आग्रह गर्दै त्यसो गर्दा खर्च पनि कम हुने र जनताले पनि राम्रो योजना र विचार बोकेको दललाई छान्न सहयोग पुग्ने बताउनुभयो ।
“एउटै मञ्चबाट मत माग्नुस, हाँसी हाँसी मत माग्नुस । पैसा खर्च पनि हुँदैन । चुल्ठे मुन्द्रे पनि चाहिँदैन । चामल बोकेर पनि जानु पर्दैन । पाइप बोकेर पनि जानु पर्दैन । जसले जिते पनि चाँगुनारायणकै नेताले जित्ने हो,” उहाँले भन्नुभयो, “विकास निर्माण छैन । न्याय छैन । सुशासन छैन । झगडा छ भने कसले जित्यो ? कसैले जितेन । त्यसकारण चाँगुनारायणले एउटा नमूना प्रस्तुत गर्न सकुन । आज जसरी सबैले एकताका साथ नगरलाई बालमैत्री घोषणा गर्नुभयो, त्यसरी चुनावमा पनि एकता प्रर्दशन गर्न सके चाँगुनारायण देशभरीकै नमूना नगर बन्न सक्छ । जनताले पनि आफुले चाहेको, विकास निर्माण गर्न सक्ने दललाई छान्न पाउँछ । त्यस्तो भयो भने स्वच्छ प्रतिष्पर्धा, प्रजातन्त्र, लोकतन्त्रको मर्म त्यहाँ हुन्छ ।”


कार्यक्रममा सांसद महेश बस्नेतले चाँगुनारायणले पाँच वर्षमा विकासमा फड्को मारेको बताउनुभयो । पाँच वर्षमा व्यवस्थित नगरपालिका निर्माणको दिशामा अघि बढ्नु कम चुनौतीको विषय नभएको बताउँदैं सडकको स्तरोन्नती, सामूदायिक विद्यालयहरुका भवन निर्माण, एक घर एक धारा अन्तर्गत घरघरमा धारा वितरण, मेयर उद्यमशिलता कार्यक्रम, छोरी शिक्षा कार्यक्रम चाँगुनारायणका नमूना कार्य भएको सांसद बस्नेतले बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले एक वर्षको निरन्तर प्रयासले नगरलाई बालमैत्री नगर घोषणा गर्न सफल भएको बताउनुभयो । उहाँले यस अभियानमा सबै सामाजिक अभियन्ता, बाल अधिकारकर्मी, सरोकारवाला, जनप्रतिनिधिहरु, राजनीतिक दलहरुको साथ, सहयोग र सहकार्य रहेको बताउनुभयो ।
त्यसैगरी जिल्ला समन्वय समितिका नवराज गेलाल, नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजा, नेपाली कांग्रेसका जिल्ला सहसचिव यादव प्रसाद अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोथे ‘बासु’लगायतका वक्ताहरुले बालमैत्री घोषणासँगै यसको सूचकांकलाई निरन्तर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा चाँगुनारायण नगरपालिकाको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनेलाई विभिन्न पदक तथा विभुषणले सम्मान गरेको थियो । जसअनुसार विष्णुहरी आचार्य, रामशरण कार्की र राजाराम छुंकालाई चाँगुनारायण ज्ञानकुञ्ज तृतिय, देवकुमारी बाँस्कोटा, हरिनारायण प्रसाद साह र मनोज थापालाई चाँगुनारायण स्वर्णमाला तृतिय, स्व. सुरेन्द्र प्रताप शाह, स्व. जयराम बासुकला र स्व. जानकी कुईंकेललाई चाँगुनारायण ओजस्वी तृतिय प्रदान गरिएको थियो ।
त्यस्तै डा. मोहन खनाल र सुस्मिता तामाङलाई चाँगुनारायण स्वर्णमाला द्धितिय, स्व. बुद्धिकृष्ण लामिछाने र स्व. दामोदर पराजुलीलाई चाँगुनारायण ओजस्वी द्धितिय, परशुराम गेलाललाई चाँगुनारायण ज्ञानकुञ्ज प्रथम, स्व. हरिशरण लामिछानेलाई चाँगुनारायण ओजश्वी प्रथम, हरिहर तिमिल्सिनालाई चाँगुनारायण रत्न र चट्याङ मास्टर कृष्ण मुरारी गौतमलाई चाँगुनारायण गौरवले सम्मान गरेको थियो ।
स्थापना दिवसकै अवसरमा नगरपालिकाको विविध क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरु नगरगानका गायक तथा संगीतकार शिशिर योगी, शिक्षासेवी प्रल्हाद तिमिल्सिना, बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चतुर्वेदी चौबे, समाजसेवी सोम प्रसाद प्रधान, कृषक तथा समाजसेवी सुजेन्द्र मुनकर्मी, नगरगान गायिका निशा देसार, नगरगान गायकहरु सन्तोष लामा, मिना निरौला, विश्व नेपाली, खानेपानी तथा सरसफाई अभियन्ता पार्वती दंगाल, बालमैत्री सम्पर्क व्यक्ति आशा माझी, सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने, जनस्वास्थ्य निरीक्षक लोकेन्द्र पौडेल, बाल सहजकर्ता गिता तिमिल्सिना, विद्यालय नर्स अनिता मचामसीलाई पनि सम्मान गरिएको थियो ।
सोही अवसरमा जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकालमा भएका विकास निर्माण र उपलब्धी सम्बन्धी चाँगुनारायण विकास दर्पण पुस्तक विमोचन गरिएको थियो । घोषणा सभा अघि नगरका वडा वडाबाट साँस्कृतिक झाँकीसहित नगरबासीहरु सहभागी भएका थिए ।