नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम

भक्तपुर, फागुन २७
भक्तपुर नगरव्यापी नेवारी परम्परागत बाजा पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम भएको छ । भक्तपुर नगरपालिकाले शुक्रवार दरवारस्क्वायरमा आयोजना गरेको उक्त प्रतियोगितामा खिछेँ दाफा भजन खलः द्वितीय, तचपाल मको गल्ली बाजा समूह तृतीय, सिद्धिगणेश बांसुरी बाजा समूह र श्री चोछें छुमा गणेश बांसुरी बाजा खलःले सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम हुने नास हैमा बाजा खलःले नगद २० हजारका साथै पछिमा १ थान, सिछ्या १ जोडी, तँ १ जोडी, बांसुरी ४ थान, द्वितीय भएको खिछेँ दाफा भजन खलःले नगद १५ हजारका साथै पछिमा १ थान, सिछ्या १ जोडी, तँ १ जोडी पुरस्कार पाए ।


त्यस्तै तृतीय हुन सफल तचपाल मको गल्ली बाजा समूहले नगद १० हजार, पछिमा १ थान, सिछ्या १ जोडी, सान्त्वना स्थान प्राप्त गरेका सिद्धिगणेश बांसुरी बाजा समूह र श्री चोछें छुमा गणेश बांसुरी बाजा खलःले नगद ५ हजार र पछिमा १÷१ थान पुरस्कार प्राप्त गरे । त्यस्तै सहभागी सबै टोलीले पछिमा बाजा १÷१ थान र नगद २ हजार ५ सय प्राप्त गरे ।
प्रतियोगितामा विजयी समूहलाई पुरस्कार वितरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कला र संस्कृति हाम्रो अमूल्य सम्पत्ति भएकोले यसको संरक्षण र संवद्र्धन गर्नु सबैको दायित्व भएको बताउनुभयो ।


उहाँले सांस्कृतिक प्रतियोगिताले यहाँका कलाकारहरुमा उत्साह र हौसला थप्ने र कला संस्कृति पनि संरक्षण हुने बताउँदैं कला संस्कृति संरक्षणमा भक्तपुर नपाले गरेको कामबाट देशका अन्य स्थानीय तहहरुले पनि सिक्ने अवसर मिलेको बताउनुभयो । विद्यालय तह, विभिन्न सहकारी संस्था र टोलटोलमा भएको सांस्कृतिक विधाहरुको प्रशिक्षणले नयाँ पुस्तामा यसतर्फ आकर्षण बढाउन मद्दत पुगेको बताउँदैं उहाँले सांस्कृतिक गुरुहरु समाजका आदरणीय र सम्मानित व्यक्तिहरु भएको हुँदा उहाँहरुको योगदानको उचित कदर गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण र सम्बद्र्धन गर्नुका साथै नागरिकहरुमा भएको सीप उजागर गर्न प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो ।


उपप्रमुख रजनी जोशीले नगरपालिकाले संस्कृति संरक्षणमा गर्दै आएको प्रयासले नयाँ पुस्तालाई आफ्नो कला र सम्पदाप्रति माया गर्ने संस्कारको विकास भएको बताउनुभयो ।
प्रतियोगिताको निर्णायक मण्डलमा शंखबहादुर दुवाल, पन्चलाल लाछिमस्यू, बुद्धलाल मानन्धर, कृष्णकुमार कोजू, विष्णुबहादुर मानन्धर, रवि कपाली र इन्दिरा लाछिमस्यू रहेका थिए । प्रतियोगितामा नगरभित्रका ३३ वटा पछिमा बाजा समूहहरुले भाग लिएका थिए ।