श्रीगोपाल कला सिरपाद्धारा भोजपुरको करुणामय गुरु गणेश दाफा भजन खलः पुरस्कृत

भक्तपुर, पुस १०
थिमि कला परिषदले ११ औं श्रीगोपाल कला सिरपाद्धारा भोजपुरको करुणामय गुरु गणेश दाफा भजन खलःलाई पुरस्कृत गरेको छ । भोजपुरको टक्सारमा दाफा भजनलाई जिवन्तता दिन गरेको योगदानको कदरस्वरुप परिषदले यसवर्षको श्रीगोपाल कला सिरपाद्धारा पुरस्कृत गरेको हो ।
परस्कारको राशी नगद २५ हजार, सुनको जलपसहितको चाँदीको तक्मा र ताम्रपत्र रहेको छ । पुरस्कार ग्रहण गर्न भोजपुर टक्सारदेखी आउनूभएका भजन खलःका गुरु एवम् थकाली प्रेम शाक्यलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले दोसल्ला ओढाई ताम्रपत्र प्रदान गरी पुरस्कृत गर्नुभयो ।


सो अवसरमा परिषदले मध्यपुर थिमि नगरभित्रका विभिन्न १३ वटा दाफा भजन खलः र परिषदको संस्थागत विकासमा सहयोग गर्ने एक जनालाई पनि सम्मान गरेको थियो । परिषदले गुंगः चिभाः दाफा भजन खलः गुंगः चिभा, पाचो गणेश दाफा भजन खलः पाचो, कोकि इनाय दाफा भजन खलः ताहननी, सिवाः साय्मि दाफा भजन खलः सिवाःत्वाः, सिद्धिकाली छत्र गुथि दाफा भजन खलः पोबु, झ्वापुननी दाफा भजन खलः छ्वासःत्वाः नगदेश, भादेवी दाफा भजन खलः धोंननी वामुनेत्वाः, सिद्धिकाली कोसिइनाय दाफा भजन खलः लोकन्थली, सिद्धिगणेश दाफा भजन खलः लोकन्थली, लोकेश्वर दाफा भजन खलः, पाँचो गणेश दाफा भजन खलः बोडे, निलवर्ण दाफा भजन खलः चोडेत्वाः र वरिष्ठ गीतकार नारायणकुमार आचार्यलाई सम्मान गरेको थियो ।


कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मुर्त अमुर्त कला संस्कृतिको जगेर्ना र संरक्षणका लागि पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । पर्यटनसँग कला संस्कृतिलाई जोड्न सके आम्दानी हुने र त्यसले संस्कृतिको संरक्षणका लागि कुनै सरकारको मुख ताक्नु नपर्ने बताउँदैं उहाँले गुठी संस्थानले जग्गाको व्यवस्थापन गरी कला संस्कृतिको संरक्षण गर्न नसक्ने ठोकुवा गर्नुभयो ।
उहाँले उपत्यका नगरपालिका फोरमले उपत्यकाव्यापी दाफा भजन महोत्सव गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले संघीय सरकारले कहिले पनि नेवाः कला संस्कृतिको संरक्षणका लागि चासो नदिएको आरोप लगाउँदैं अब स्थानीय सरकारले आवश्यक संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मध्यपुर थिमिले गर्व गर्न लायक हुने गरी कला संस्कृतिको संरक्षणका काम गरेको दावी समेत गर्नुभयो ।


गुठी संस्थानका प्रमुख प्रशासक किरण शाक्यले कला संस्कृति, दाफा भजन नभए नेवाः नेवाः हुन नसक्ने बताउनुभयो । नेवाः पहिचान कला संस्कृतिसँग जोडिएको चर्चा गर्दै शाक्यले नेवाः जात मात्र नभई संस्कृति भएको बताउनुभयो । ‘नेवाः सस्कति जिवन्त छ । यदी यस्ता जिवन्त संस्कृति नहुने हो भने नेवाः नेवाः हुन सक्दैन,’ उहाँले भन्नुभयो ।
नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले गुठी भनेको जग्गा मात्र नभई मुर्त अमुर्त कला संस्कृति पनि भएको बताउनुभयो ।
परिषदमा अध्यक्ष श्रीगोपाल प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय विभुति शंखधर शाख्वा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, परिषदका सचिव ज्ञानराम श्रेष्ठ, सदस्यहरु गणेशराम प्रजापति, कैलाशभक्त प्रधानाङ्ग, मध्यपुर थिमि वडा नं. ९ का वडाअध्यक्ष कृष्णकुमार प्रजापतिलगायतले परिषदले मध्यपुर थिमिको परम्परागत बाजा तथा प्याखँ, कला संस्कृतिको संरक्षणका कार्य गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा परिषदका कलाकारहरुले महाकाली प्याखँ, नागचा प्याखँ, भैरव काली प्याखँ प्रदर्शन गरेका थिए ।