भक्तपुरका राष्ट्रिय परिचयपत्रको लागि ९० हजारले विवरण बुझाए

भक्तपुर, पुस १०
भक्तपुरका राष्ट्रिय परिचयपत्रको लागि विवरण बुझाउनेको संख्या ९० हजार पुगेको छ । जिल्लाको चाँगुनारायण नगरपालिकाबाट शुरु भएको विवरण संकलन अभियानमा हालसम्म ९० हजारले विवरण बुझाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
भक्तपुरमा हाल सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकामा वडास्तरमा विवरण संकलनको कार्य भइरहेको छ । त्यस्तै यही पुस १२ गतेदेखी मध्यपुर थिमि नगरपालिकामा विवरण संकलन अभियान शुरु हुँदैंछ । चाँगुनारायण नगरपालिकामा भने विवरण संकलनको अभियान सम्पन्न भइसकेको प्रजिअ शर्माले बताउनुभयो ।
जिल्लामा ७६ वटा स्टेशनबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम भइरहेको प्रजिअ शर्माले बताउनुभयो । “एउटा स्टेशनमा दुई वटा कम्युटरसहित दुई जना कम्प्युटर अपरेटर, दुई वटा स्टेशन बराबर एक जना रुजु अधिकारी र आवश्यकता अनुसार सहयोगी कर्मचारी खटिएका छन,” उहाँले भन्नुभयो ।
मध्यपुर थिमि नगरपालिकाका रुजु अधिकारीहरुलाई अभिमुखीकरण गर्दै प्रजिअ शर्माले व्यक्तिको सम्पूर्ण परिचयात्मक विवरण समावेश गरिने राष्ट्रिय परिचयपत्रको विशिष्ट महत्व रहेकोले अभियानलाई सबै सरोकारवालाहरुले सफल बनाउनुपर्नेमा जोड दिनुभयो । “राष्ट्रिय परिचयपत्र कार्यान्वयन भएपछि राहदानी, नागरिकता, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाण पुर्जा जस्ता व्यक्तिका अन्य विवरण यसैमा समावेश हुनेछ,” उहाँले भन्नुभयो, “त्यसैले यो अभियान महत्वपूर्ण अभियान हो । सबै सरोकारवालाहरुले हातेमालो गर्दै अभियान सफल बनाऔं ।”
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अभियानलाई सफल बनाउन नगरपालिकाकोतर्फबाट आवश्यक सहयोग प्रदान गर्ने बताउनुभयो ।
पछिल्लो समय सरकारले राहदानी लिन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्रको लागि विवरण बुझाउनेको चाप बढेको छ । सेवाग्राहीको चापलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले नागरिकता बनाउन आएका सेवाग्राहीलाई नागरिकतासँगै सँगै परिचयपत्रको विवरण समेत भराउने व्यवस्था गरेको प्रजिअ शर्माले बताउनुभयो ।
जिल्लाका अभियान सम्पन्न भएका नगरपालिकाका बासिन्दालाई प्रशासनमा आएर राष्ट्रिय परिचय पत्रको विवरण बुझाउने व्यवस्था गरिएको छ । भक्तपुरमा यही पुस २६ गते विवरण संकलन अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।