भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाए

भक्तपुर, कार्तिक ७
भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन । जिल्लाको चाँगुनारायण नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाको वडा नं. १ देखी ४ सम्म जारी विवरण संकलन अभियानमा १८ हजारले व्यक्तिगत विवरणसहितको फाराम भरेका हुन ।
यसैबीच सूर्यविनायक नगरपालिकाको वडा नं. ६ देखी १० सम्म सोमवारदेखी अभियान शुरु हुने भएको छ । अभियान अन्तर्गत प्रत्येक वडामा ३ वा ४ स्टेशन रहनेछन । एक स्टेशनमा एक जना कम्युटर अपरेटर, दुई जना रुजु अधिकारी र एक जना सहयोगी रहने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
उहाँले छिट्टै भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा पनि छिट्टै अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । “भक्तपुर नगरपालिमाका एक दुई दिनभित्रै रुजु अधिकारीहरुलाई अभिमुखीकरण गरेर कार्यस्थल खटाई अभियान सुरु गर्ने तयारी भइरहेको छ । त्यसपछि मध्यपुर थिमिमा अभियान सुरु गर्छौं,” उहाँले भन्नुभयो ।
राष्ट्रिय परिचय पत्रमा व्यक्तिका व्यक्तिगत र जैविक विवरण प्रविष्ट हुने भएकाले यो बहुउपयोगी भएको र भविष्यमा अनिर्वाय जस्तै हुने भएकाले सबै नागरिकले विवरण भरेर बुझाउन प्रजिअ शर्माले आह्वान गर्नुभयो ।


सूर्यविनायक नगरपालिकामा आइतवार आयोजित रुजु अधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रममा प्रजिअ शर्माले भन्नुभयो, “राष्ट्रिय परिचयपत्रले भविष्यमा राहदानी, नागरिकतालगायतको कार्य गर्ने भएकाले यसको महत्व धेरै रहेको छ र यो बहुउपयोगी रहेको छ । त्यसैले सबै नागरिकले अनिवार्य विवरण बुझाउनुपर्छ ।”
अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले राष्ट्रिय परिचयपत्रका विविध पक्षका बारेमा जानकारीसहितको प्रस्तुतीकरण दिँदैं विवरण बुझाउँदा गलत विवरण बुझाउन नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले विवरण संकलन कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको व्यक्तिगत विवरणलाई व्यवस्थित गर्ने राष्ट्रिय परिचय पत्र अभियानलाई सफल बनाउन स्थानीय तहले आवश्यक सहयोग गर्नेछ ।” उहाँले हाल विवरण संकलन अभियान जारी रहेको वडाहरुमा कर्मचारीहरुको व्यवहारलगायतका गुनासो आएकाले त्यसलाई समाधान गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. २ का वडाअध्यक्ष कमलनाथ आचार्यले विवरण संकलनमा खटिएका कर्मचारीहरुको व्यवहार जनमैत्री नभएको गुनासो गर्नुभएको थियो । अभिमुखीकरणमा सहभागी रुजु अधिकारीहरुले राखेका जिज्ञासाहरुलाई सप्रजिअ परियार र प्रजिअ शर्माले स्पष्ट पार्नुभएको थियो ।