विज्ञापन आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक

भक्तपुर, कार्तिक ९
विज्ञापन बोर्डले विज्ञापन आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले सोमवार आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो आचार संहिता सार्वजनिक गर्नुभएको हो ।
आचार संहिताको मस्यौदामाथि एक महिनासम्म सरोकारवालाको राय प्रतिक्रिया लिई अन्तिम रुप दिई प्रकाशन गर्ने बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले जानकारी दिनुभयो । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी गरिएको दिनलाई आधार मानेर बोर्डले पहिलो पटक विज्ञापन दिवस मनाएको बताउँदैं उहाँले अर्को वर्ष विज्ञापनको राष्ट्रिय नीति सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले विज्ञापन बोर्डले भविष्यमा विज्ञापन व्यवसायलाई सम्मानित व्यवसायको रुपमा स्थापित गराउने बताउनुभयो ।
दुई चरणमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन आग्रह गर्नुभयो । उहाँले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढ्न सके १० वर्षभित्रमा दक्षिण एसियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने दाबी गर्नुभयो । मन्त्री कार्कीले समाजका अरू क्षेत्रलाई पनि उदाहरणीय बन्ने गरेर मुलुकको समृद्धिको अभियानमा जुट्न विज्ञापन क्षेत्रसँग सम्बन्धित संघ, संस्थाहरूलाई सचेत गराउनुभयो ।
मन्त्री कार्कीले विज्ञापनसम्बन्धी आचारसंहिताको प्रस्तावित मस्यौदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सरोकारवाला सबै निकायलाई आह्वान गर्नुभयो । उहाँले विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफँैले आफैँलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यकतासमेत औंल्याउनुभयो ।
कार्यक्रममा मिडिया अलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले मिडियाहरूमा अवैध रूपमा भइरहेको विज्ञापन रोकेर एकद्वारा प्रणाली जारी गर्न बोर्डको ध्यानाकर्षण गर्नुभयो । सामाजिक सञ्जालमा छापिएका विज्ञापनलाई पारदर्शी बनाउनुपर्ने उहाँको माग छ । उहाँले विज्ञापन दाताले दिने रकम मध्ये २० प्रतिशत मात्र सञ्चारमाध्यमले पाउने गरेको र ८० प्रतिशत बीचमै हराउने गरेको दावी गर्दै हराएको ८० प्रतिशत रकमको हिसाव खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले विज्ञापन कुनै चन्दा, दान, दक्षिणा नभएको उल्लेख गर्दै टीआरपी बढी हुनेले पाउने र समानुपातिक रुपमा बाँड्नु नपर्ने बताउनुभयो ।
नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले स्टेक होल्डरहरूको हकहीत सुरक्षित हुनेगरी विज्ञापन बजार बढाउनुपर्ने बताउनुभयो । विज्ञापनमा केही विकृतिहरू केही व्यवसायीका कारण पनि भएको बताउँदै अध्यक्ष धितालले एजेन्सीहरूलाई दलालको संज्ञा दिन नमिल्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यम बलियो बनाउन सके मात्रै सम्पादकीय स्वतन्त्रता सबल हुने भन्दै विज्ञापन दिए राम्रो र नदिए नराम्रो भन्ने परिपाटी अन्त्य गर्न राज्यले विज्ञापन बजारलाई बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोसल मिडियालाई व्यवस्थित बनाउन र करको दायरामा ल्याउन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले मिडियाले विज्ञापन पाउन कन्टेन्ट राम्रो हुनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन मिडियाको अधिकार हो भन्ने कुरा स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले विज्ञापन मिडियाको अधिकार हो भन्ने कुरा स्थापित नगरेसम्म विज्ञापन र मिडिया सन्दर्भ, सम्बन्ध सही ढंगले परिमार्जित गरेको नठहरिने तर्क गर्नुभयो ।
कार्यक्रमको दोस्रो चरणमा आचार संहिताबारे अन्तरक्रिया भएको थियो । कार्यक्रममा बोर्डका अध्यक्ष हुमागाईंले सहजीकरण गर्दै आचार संहिताका विविध पक्षका बारेमा जानकारी दिनुभयो । अन्तरक्रियामा सहभागीहरुले आचार संहिताप्रति विभिन्न सुझाव दिनुभएको थियो ।