शुभमंगल विहार थानकाेटमा कथिन चीवर दान सम्पन्न

सुनीता तुलाधर, काठमाण्डाै, कार्तिक ६ गते

उपसम्पदा प्राप्त भिक्षुले असार पूर्णिमादेखि असोज पूर्णिमा ३ महिनासम्म एकै विहारमा बस्ने अधिस्थान सहित विनयपूर्वक वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा १ महिना भित्र कुनै एकदिन रोजेर उत्सवको रुपमा मनाइने कथिन चीवर दान यसवर्ष पनि शुरु भैसकेको छ ।
यसै क्रममा आज शुभमंगल विहार, थानकोट, काठमाण्डौंमा श्रद्धेय भिक्षु सुमंगल स्थविर विनयपूर्वक ३ महिना वर्षावास बस्नुभएको उपलक्ष्यमा भिक्षु महासंघलाई ‘कथिन चीवर दान’ गरियो । ‘सुन्दरी नानी बज्राचार्य, राजेश बज्राचार्य, सुनीता बज्राचार्य र सपरिवार’ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कथिन चीवर लगायत अष्टपरिष्कारहरु पनि दान गरिएको थियो ।

श्रद्धेय भिक्षु कोलित महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुभएको थियो भने उपस्थित भिक्षुगण, अनागारिका गुरुमाहरु र उपासकउपासिकाहरुद्वारा सामूहिक बुद्धपुजा पनि गरियो ।
उक्त चीवर दान कार्यक्रममा भिक्षु कोलित महास्थविरले धर्मदेशना दिनुहुँदै, ‘व्यक्तिगत दान भन्दापनि संघलाई दिने दानको महत्व ठूलो हुन्छ । भगवान बुद्ध स्वयंले पनि संघदानलाई प्रशंसा गर्नुभएको छ । भगवान बुद्धले सानी आमा प्रजापति गौतमीलाई ‘संघी गोतमे देही’ भनेर आफूलाई भनेर ल्याएको चीवर भिक्षुसंघलाई दान दिन लगाउनु भएको थियो ।’ त्यसैले यस कथिन चीवर पनि भिक्षुसंघलाई दान दिइन्छ । जसले गर्दा यसको महत्व धेरै नै ठूलो छ भनेर उहाँले धर्मदेशनाका क्रममा बताउनुभयो ।


उक्त कार्यक्रममा विभिन्न विहारहरुबाट आउनु भएका भिक्षुहरु, अनागारिका गुरुमाहरु र सयौं उपासकउपासिकाहरुको उपस्थिति रहेको थियो ।