लक्ष्मी गारु, भादगाउँ, कार्तिक २७, रासस
कार्तिक शुक्ल प्रतिपदा अर्थात चन्द्रमानक अनुसारको नेपाल सम्वत् कछलाथ्व पारुका दिन नेवार समूदायले मनाईने म्हः पुजा यसवर्ष तिथि घटबढका कारण आज सोमवार साँझ मनाईंदैछ ।
पात्रो अनुसार कार्तिक २७ गते सोमवार अपरान्ह २ बजेर ४१ मिनेटपछि कार्तिक शुक्ल प्रतिपदा अर्थात नेपाल सम्वत् कछलाथ्व पारु शुरु हुने र कार्तिक २८ गते मंगलवार अपरान्ह २ बजेर ३८ मिनेटमा समापन भई द्वितीया तिथि लाग्ने भएकोले नेवार समूदायले आज सोमवार साँझ नै म्हः पुजा मनाईन लागेको हो ।
यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सु–स्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । आफ्नो आत्मालाई चिनेर आत्म शुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकारलाई नाश गरेर ज्ञानको ज्योती फैलियोस भन्ने कामनासहित नेवार समुदाय म्हः पुजा मनाउने गर्दछन । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ ।
म्हः पुजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पुजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय बनाउने र सु–स्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ ।
नेवारी भाषामा म्हः भनेको शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पुजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता र ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको पाइन्छ ।
किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।
म्हः पुजाका लागि नेवार समुदाय बिहानैदेखी घरसफा गर्ने र विभिन्न पकवान तयार गरी म्हः पुजाको तयारी गर्दछन । साँझमा गरिने म्हः पुजाका लागि सर्वप्रथम घरको खुला स्थानमा परिवारका सबै सदस्यलाई पुग्ने गरी प्रत्येकलाई एक एक वटा मण्डप बनाईन्छ ।
मण्डप बनाउन रातो माटोले लिपेर चोखो पानी छर्किन्छ । त्यसपछि तेल, चामलको पिठो कालो भट्मास, आख्य(धानको बोक्रा निकालेर तयार गरेको कालो चामल), लावा, मासको गेडाको मण्डप तयार गरिन्छ । त्यसको माथि खेलुइता(टुप्पिदेखि चिउँदोसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ ।
मण्डल तयार भइसकेपछि मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयर लगायतका फलफुल सजाईन्छ । त्यसको माथि जजंका (काँचो धागोमा पञ्चरंगिन कपडाको टुक्रा राखेर बनाएको माला), फूलको माला र सयपत्री फूल राख्छन ।
परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी वस्दछ । परिवारको सवैभन्दा जेठी आमाले शुरूमा सुकुण्डा बालेर चामलको पिठोबाट बनाइएको गणेश पुजा गरी म्हःपुजा सुरु गरिन्छ । तत् पश्चात् सबैलाई ‘धौ सगँ’ दहिको सगुन दिइन्छ ।
त्यसपछि सवैले लामो कपडाको वत्ती (खेलु इताः) मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पुजा गरी जेठी आमाले शरिरको तीन अंङग घुँडा, कुम र टाउकोमा तिन ओटा मुटुमारी(चामलको रोटी),पञ्चरंगी फुलका टुक्रा, अमला, ओखर,ताय, जुंगेधान, आँख्य आदी राखेर तीन पटकसम्म टाउकोमा ढोगाएर मण्डलामा जाने गरि कुले(काठको पाठी)ले खन्याइ म्हः पूजा गरिन्छ। म्हः पूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।
त्यसपछि सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती सवैको हातहातमा दिइन्छ र सवै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ । यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिई भातको जाँड तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचौरा भुईमा राख्नु हुँदैन । म्हः पुजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ ।
मण्डलको सामान्य अर्थ संस्कृतमा गोलाकार हो । पुजा साधना प्रयोजनमा मण्डलले विषयको सार अर्थ तथा समग्र स्वरूप जनाउन प्रयोग गरिन्छ । म्ह पुजाको मण्डलले म्ह (आफू) को सार अर्थ तथा यथार्थ स्वरूप चित्रित गर्दछ । म्हःको विविध पक्षलाई समावेश गरी मण्डलको मध्य विन्दुमा आफूलाई राखिन्छ ।
म्हपुजा गर्दा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गर्न सक्ने ज्ञान प्राप्त हुने जनविश्वास रहेको छ । साथै शरिरमा कुनै रोग व्याधी नलागोस, सधैं स्वस्थ रहोस भन्ने कामना समेत गरिन्छ । म्हपुजा गर्नुको अर्को उद्देश्य जीवनमा पाप कर्म गर्न नपरोस भनी बलिराजालाई साक्षी राखेर प्रतिज्ञा गर्नु पनि रहेको संस्कृतिकर्मीहरु बताउँछन ।
सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हपूजा भन्नाले आत्मपूजाका रुपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरि शरण राजोपाध्यायले बताउनुभयो । “मानव समाजमा आत्मा भन्दा ठूलो केही पनि छैन । यही आत्मालाई शान्ति र सन्तुष्टी मिलोस । यसले सारा जगतमा ज्ञानको ज्योती फैलाओस भनी यो पुजा गरिन्छ,” उहाँले भन्नुभयो, “आत्म सन्तुष्टी नै सबभन्दा ठूलो सन्तुष्टि हो । त्यही भएर हामी यमपञ्चकको समयमा काग, कुकुर, गाई, गोरुको पनि पुजा गछौ ।”
म्हः पूजा मानव सभ्यता, सँस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको उहाँको भनाई छ । “हाम्रो शरिर पञ्च तत्वले बनेको हुन्छ । पञ्च मकारको रुपमा लिँदा अण्डालाई मैथुनको रुपमा लिइन्छ । जसमा प्राण छ, प्राण भएपछि सृष्टि हन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पु¥याएको छ,” उहाँले भन्नुभयो ।
ईतिहास तथा संस्कृतिविद् प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नको लागि म नै भगवान्, म नै ब्रम्हाण्ड, मैले सारा जगतको कल्याण गर्न सक्छु भन्ने उद्देश्यले नेवार समूदायले म्हः पुजा गर्दै आएको बताउनुभयो । “संसारमा ज्ञानको ज्योती फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतिक पुजा नै म्हः पुजा हो,” उहाँले भन्नुभयो ।
म्हः पुजा नेवार समुदायको प्रचिन पर्व भएको बताउँदैं उहाँले भन्नुभयो, “नेपाल मण्डलका नेवार समुदायले प्राचिन समयदेखि यसलाई मौलिक पर्वका रुपमा यसलाई मनाउँदै आएको छ । यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतिक दैनिक जीवनमा प्रयोग हुने कुचो र नाङ्गलो, गाग्री, करुवा, सिलौटा, चुलोलगायत पुजा गरी म्हःपुजा पर्व मनाइन्छ ।”