भक्तपुर, साउन २८
आँखा पाक्ने रोगको संक्रमण बढेपछि मध्यपुर थिमि नगरपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ । आँखा पाक्ने रोगले विद्यार्थीहरु बढी प्रभावित हुन थालेपछि नगरपालिकाले रोकथामका लागि साउन २९ र ३० गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विद्यार्थीहरुमा आँखा पाक्ने रोगको संक्रमण बढेकोले नीजि तथा संस्थागत विद्यालयका संघ संस्थाहरुसँगको छलफलमा दुई दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको मध्यपुर थिामि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
“मध्यपुर थिमि नगरभित्रका विद्यालयहरुमा आँखा पाक्ने रोगको संक्रमण बढ्न थालेको छ । त्यसैले पहिलो चरणमा संक्रमणको चेन ब्रेक गर्ने उद्देश्यले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हौं,” उहाँले भन्नुभयो । दुई दिनपछि परिस्थिती अध्ययन गरेर थप दिन विद्यालय बन्द गर्ने निर्णय गरिने उहाँले बताउनुभयो ।
विद्यार्थी मात्र नभई शिक्षक शिक्षिकाहरु पनि आँखा पाक्ने रोगले प्रभावित भएको प्याव्सन मध्यपुर थिमि नगरसमितिका अध्यक्ष एवम् जनप्रेमी वल्र्ड स्कुल कौशलटारमा प्रिन्सिपल निलेश आचार्यले बताउनुभयो । “जनप्रेमी वल्र्डमा एकै दिन कक्षा ११ र १२ मा ५८ जना र कक्षा १ देखी १० सम्म ६८ जना अनुपस्थित छन । शिक्षकहरु तीन जनामा संक्रमण देखिएको छ,” उहाँले भन्नुभयो ।
आँखा अस्पतालमा आउने ६० प्रतिशत बिरामीमा आँखा पाक्ने रोगको संक्रमण देखिएको विपि बाल आँखा कान नाक प्रतिष्ठानका नेत्र विषेशज्ञ डा. अर्जुन श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा आउने आँखाका बिरामीहरुमा ५० प्रतिशत आँखा पाक्ने रोगका बिरामी रहेको डा. सदिक्षा श्रेष्ठले बताउनुभयो ।