पाँचौँ धनलक्ष्मी स्मृति स्क्वासमा अरहान्त र कृष्णालाई उपाधि

भक्तपुर, साउन २८
सर्वाधिक पुरस्कार राशीको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि नेपालका नम्बर एक खेलाडी अरहन्त केसर सिंह र कृष्णा थापाले जितेका छन । ललितपुरको सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै अरहन्तले पुरुष र कृष्णाले महिलातर्फको उपाधि जितेको हो ।
फाइनलमा अरहान्तले दिपक थापालाई ११–६, ११–४ र ११–८ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् । धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा अरहान्तको यो लगातार पाँचौ उपाधि हो ।
महिला एकलमा कृष्णा थापाले उपाधि रक्षा गर्ने क्रममा राष्ट्रिय च्याम्पियन विपना ब्लोनलाई ११–६, ११–९ र ११–९ को सोझो सेटमा हराइन् ।
उपाधिसँगै अरहान्त र कृष्णाले समान २१ हजार रुपैयाँसँगै ट्रफी पाएको छ । दोस्रो भएका दीपक र विपनाले १५ हजार तथा तेस्रो भएकाले समान ५ हजार रुपैयाँ पाएका छन् ।
यसैगरी यू–१९ ब्वाइजमा पासाङ ब्लोनले विकास मगरलाई ११–५, ८–११, ११–८ र ११–५ ले पराजित गर्दै उपाधि जितेको छ । यस प्रतियोगितामा पासाङको यो दोहोरो उपाधि हो । पासाङ प्लेट विधामा पनि च्याम्पियन भएको थियो । यू–१९ ब्वाइजको विजेताले ११ हजार, दोस्रो भएको विकासले ६ हजार र तेस्रो भएका दुई जनाले समान ३ हजार रुपैयाँ पाएका छन् ।
यसैगरी मास्टर्स (प्लस ५०) एकल विधामा प्रवीणवीर सिंह कंसकार पहिलो भएका छन् । उनले फाइनलमा सुदीपबहादुर सिंहलाई ११–६, १२–१०, १०–१२ र १०–६ ले हराए ।