भक्तपुर नगरपालिकाद्वारा ७० लाख बराबरको छात्रवृत्ति वितरण

भक्तपुर, साउन २७
भक्तपुर नगरपालिकाले शनिवार कक्षा ११ र १२ को छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको हो ।
नगरपालिकाले परीक्षामा उत्तीर्ण १२७ जना विद्यार्थीहरुलाई करिव ७० लाख रुपैंया बराबरको छात्रवृत्ति सिफारिस पत्र वितरण गरिएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो । नगरपालिकाले शैक्षिक वर्ष २०८०÷८१ को लागि छात्रवृत्ति पाउने विद्यार्थीहरुमा व्यवस्थापन संकायतर्फ ६७ जना, विज्ञानतर्फ ३८ जना, मानविकीतर्फ १० जना, शिक्षातर्फ ६ जना र कानुनतर्फ ६ गरी जम्मा १२७ जना छन ।
सो अवसरमा नगर प्रमुख प्रजापतिले विद्यार्थीहरूले आफ्नो योग्यता र क्षमताअनुसारको विषय रोजेर उच्च शिक्षा हासिल गरी देश र जनताको सेवामा समर्पित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई नगरपालिकाले उत्कृष्ट कलेजहरु सञ्चालन गरी दक्षता हासिल गर्ने अवसर प्रदान गर्दै आएको बताउँदै उहाँले शिक्षालाई व्यापार बनाउन नहुने धारणा राख्नुभयो ।


प्रमुख प्रजापतिले नगरपालिकाले विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुको अर्थ उनीहरुको शैक्षिक विकासमा लगानी गर्नु हो भन्नुहुँदै नगरपालिकाले छात्रवृत्ति सँगसँगै शैक्षिक ऋणको व्यवस्था गरी विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याइरहेको जानकारी दिनुभयो । उहाँले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुले अनुशासित र इमानदार ढंगले अध्ययन गरी समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने विचार राख्नुभयो ।
छात्रवृत्ति वितरण समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शिक्षामा पनि विभिन्न किसिमका विकृतिहरु भित्रिरहेकोतर्फ विद्यार्थीहरु सजग हुनुपर्ने बताउँदै नयाँ पुस्ताका विद्यार्थीहरु सभ्य र सुसंस्कृत भई देश र समाजको हितमा काम गर्नुपर्ने सुझाव दिनुभयो ।
वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थी जीवनमा छात्रवृत्तिको धेरै ठूलो भूमिका रहने बताउँदै विद्यार्थीहरुले आफ्नै देशको सेवा गर्ने उद्देश्यले उच्च शिक्षा हासिल गर्न प्रेरित गर्नुभयो ।
ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले पनि विद्यार्थीहरुलाई मार्गनिर्देश गर्नुभएको थियो ।