बंगलादेशी नागरिकलाई बन्धक बनाई फरौती माग गर्ने समूह पक्राउ

भक्तपुर, साउन २९
बंगलादेशी नागरिकलाई बन्धक बनाई फिरौती माग गर्ने समूहलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ ।
नेपालको बाटो हुँदै वैदेशिक रोजगारीमा आकर्षक तलवसहित युरोप लगायतका देशमा पठाउने भनी नेपाल बोलाई बन्धक बनाउने र उनीहरुको परिवारसँग फिरौती रकम माग गरेको अभियोगमा सो समूहलाई पक्राउ गरिएको हो ।
सो समूहले नेपाली भूमिबाट विदेश जान नेपाल आएका बंगलादेशी नागरिकसँग प्रतिव्यक्ति १० लाख रुपियाँ फिरौती मागेको र रकम नदिए हत्या गर्नेसम्मको धम्की दिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले बताउनुभयो ।
पक्राउ परेकाहरुमा दुई नेपाली र ५ बंगलादेशी छन । एसपी रेग्मीका अनुसार उक्त काण्डमा संलग्न रहेको आरोपमा बंगालादेशी नागरिक अमिर हुसेन, एमडी मोसिउर, सलिम मियाँ, जहाङिर आलम, तहमिना बेगमका साथै नेपाली नागरिक सिन्धुपाल्चोककी तारा नेपाली र इलामकी रोशनी राईलाई पक्राउ गरिएको हो ।
प्रहरीले ८ जना बंगलादेशी नागरिकलाई सकुशल उद्धार गरेको छ । अपहरणमा परेका व्यक्तिहरूमध्ये कालिमाटी डोलमा रहेको मेमोरियल गेस्टहाउसबाट एमडी नाजमूल, एमडी इयासिन, इब्राहिम हुसेन र एमडी अलअमिनलाई उद्धार गरेको थियो । त्यस्तै, हरिसिद्धीको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र फरहाद हुसैनलाई र काठमाण्डौं नक्सालमा रोशनी राईको नाममा दर्ता भइ सञ्चालनमा रहेको केटिसी व्युटी पार्लर एण्ड स्पाको नाममा दर्ता भई सञ्चालन गरिएको मसाज सेन्टरमा बन्धक बनाई राखेका सपना र रुमा अख्तरलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
एजेन्टले शुरूमा उनीहरूलाई युरोपेली मुलुक पठाउने भन्दै प्रतिव्यक्ति ५ लाख टाका लिएर नेपाल पठाएको थियो । नेपाल आएपछि नेपालमा रहेका एजेन्टले उनीहरूको साथमा रहेको नगद तथा मोबाइल आफ्नो नियन्त्रणमा लिएर थप पैसा मगाउन निर्देशन दिएको पाएको एसपी रेग्मीले बताउनुभयो ।
वैदेशिक रोजगारीका लागि नेपाल आएका परिवारसँग गिरोहले थप प्रतिव्यक्ति ५० हजारदेखि १० लाख टाकासम्म मागेपछि परिवारका सदस्यले नेपालमा रहेका चिनजानका व्यक्तिलाई खबर गरेका थिए ।
एक जना बंगलादेशी नागरिकले भृकुटी मण्डपमा रहेको पर्यटक प्रहरी कार्यालयमा गएर नेपालमा आएका बंगलादेशी नागरिक अपहरणमा परेको बताएपछि सो कार्यालयले काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई खबर गरेको थियो । उक्त खबर पाएपछि कार्यालयको प्रहरी टोलीले अपहरणकारी गिरोहको खोजीलाई तीव्र बनाएको थियो ।
अनुसन्धानका क्रममा अपहरणकारीले शेख पनिरको खातामा पैसा पठाउन निर्देशन दिएपछि बंगलादेशमा रहेका उनीहरूको परिवारले १० लाख टाका पठाएका थिए । अपहरणमा परेका परिवारले १० लाख टाका पठाएपछि पुन ः १० लाख पठाउन आग्रह गर्दै पैसा नपाए अपहरणमा परेका सबैको हत्या गर्ने धम्की दिने गरेको एसपी रेग्मीले बताउनुभयो ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको एसपी रेग्मीले जानकारी दिनुभयो ।