९३ वर्षिया असक्तलाई घरमै नागरिकता प्रदान

भक्तपुर, साउन २९
जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षिया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठघर निवासी ९३ वर्षिय गंगालक्ष्मी श्रेष्ठलाई उहाँकै निवासमा नागरिकताको प्रतिलिपि प्रदान गरेको हो ।
वि. सं. १९८६ भदौ ७ गते जन्मनुभएकी श्रेष्ठले वि. संं २०४४ फागुन ५ गते टोलीबाट नागरिकताको प्रमाणपत्र लिनुभएको थियो । सो नागरिकता हराएपछि उहाँले एकाघरका परिवारमार्फत प्रशासनमा नागरिकताको प्रतिलिपिको लागि आवेदन दिनुभएको थियो । श्रेष्ठको स्थायी ठेगाना तत्कालिन बालकुमारी गाविस वडा नं. ८ रहेको छ भने हाल मध्यपुर थिमि नगरपालिका–३ गठ्ठघर बस्दै आउनुभएको हो ।


श्रेष्ठ स्वयम् कार्यालयमा उपस्थित भएर नागरिकताको लागि सनाखत गर्न नसक्ने भएकाले उहाँकै निवासमा पुगेर नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तालगायत राज्यले दिने अन्य सेवा सुविधाबाट समेत बञ्चित हुनुपर्ने अवस्था आउने भएकोले असाह्य, असक्त, दिर्घरोगी, शारीरिक अस्वस्थता र अपाङ्गगताका कारण प्रशासन उपस्थित हुन नसक्ने नागरिकलाई घरदैलोमा नै सरकारी सेवा उपलब्ध गराउने नीति अनुरुप प्रशासनले त्यस्ता नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको सहायक प्रजिअ निरौलाले बताउनुभयो ।
श्रेष्ठलाई नागरिकता प्रदान गर्न सहायक प्रजिअ निरौलासहित नागरिकता फाँटका कर्मचारीहरु श्रेष्ठ निवासमा पुग्नुभएको थियो ।