साउनको अन्तिम सोमवार डोलेश्वरमा भक्तजनको ठूलो भिड

भक्तपुर, साउन २९
यसवर्षको साउनको अन्तिम सोमवार आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको ठूलो भिड लागेको छ । बिहान ४ बजेदेखी नै शिवजीको दर्शनका लागि भक्तजनको भिड लागेको हो ।
साउन महिना विशेषगरी भगवान शिवको महिनाको रुपमा लिईन्छ । यसवर्ष मलमास (पुर्षोत्तम महिना) परेपनि साउनको सोमवार डोलेश्वर आउने भक्तजनको कमी नभएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका महासचिव हरीशरण बस्नेतले बताउनुभयो ।


“पहिलो सोमबारदेखी आज अन्तिमसम्म उत्तिकै भिड छ । मलमासले भक्तजनलाई शिवको दर्शन गर्न रोक्न सकेन,” उहाँले भन्नुभयो । उहाँले भगवान डोलेश्वर महादेवको पुजा र दर्शनका लागि विषेश व्यवस्था गरेको जानकारी दिनुभयो । “भक्तजनले डोलेश्वरलाई पञ्चामृत चढाउन एक हजार एक सय र विशेष पुजाको लागि ५ हजार १ रुपैंयाको टिकट काटेपछि मन्दिरको पुर्वीद्धारबाट दर्शन र पुजाको व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “यसरी टिकट काटेका भक्तजनले लाइनमा बस्नु पर्दैन ।”
भक्तजनको भिडका कारण दर्शनका लागि करिव एक घण्टा लाइन बस्नु परेको मध्यपुर थिमि १, लोहकिल्थलीबाट दर्शनका लागि आउनुभएकी अनिता प्रजापतिले बताउनुभयो । भक्तजनलाई दर्शनको लागि मन्दिरको दक्षिणतर्फको पाटीमा लाइन व्यवस्था गरिएको थियो ।


यसैगरी मन्दिर परिसर बाहिर भक्तजनका लागि निःशुल्क प्रसादको व्यवस्था गरिएको छ । रौनियार परिवार भक्तपुरले भक्तजनलाई निःशुल्क भोजन तथा प्रसादको व्यवस्था गरिएको हो । त्यस्तै सिपाडोल खानेपानी उपभोक्ता समिति र वैभवेश्वर टोल सुधार समितिले निःशुल्क खानेपानीको व्यवस्था गरिएको छ ।
यस्तै आयु सुपर स्पेसलिष्ट क्लिनिक गठ्ठाघर, नागरिक कम्युनीटी अस्पताल गठ्ठाघर, हेल्दी हार्ट गठ्ठाघर, भक्तपुर इन्टरनेसनल अस्पताल कौशलटार र इन्द्र बक्स गण सूर्यविनायकले निःशुल्क स्वास्थ्य परिक्षण गरिएको समितिका महासचिव बस्नेतले बताउनुभयो ।


साउनको महिनासँगै हरेक बर्ष श्रावणी मेला लगाउँदै आएको डोलेश्वर मन्दिरमा यो वर्ष पनि ३८ दिने साउने मेला सञ्चालन भइराखेको छ । मेलामा शिव पुराण कथा वाचन, श्रीमद् भागवत महापुराण वाचन, विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै कलाकारहरुबाट भजन किर्तनलगायतका विभिन्न धार्मिक गतिविधि हुँदैं केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले बताउनुभयो । मेलामा उपस्थित भक्तजनहरुले चढाएको भेटीको रकमले मन्दिर निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको समितिले जनाएको छ ।