हराएको १६ औं दिनमा महिला मृत फेला

भक्तपुर, असार २९
भक्तपुरको गुण्डुबाट गत असार १३ गते बिहानदेखी हराएकी एक महिला १६ औं दिनमा बिहिवार मृत फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने ३८ वर्षिया माया नगरकोटी हराएको १६ औं दिनमा गुण्डुकै मोडन स्कुल नजिकको जंगलमा मृत अवस्थामा फेला परेको हो ।
अस्थायी प्रहरी पोष्ट गुण्डुका प्रहरी सहायक निरिक्षक रामबहादुर मगरको टोलीले खोजतलास गर्ने क्रममा असार २८ गते साँझ ४ बजे नगरकोटी मृत अवस्थामा फेला परेको हो । “नगरकोटी उत्तानो परी मृत अवस्थामा फेला परेको हो,” जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले भन्नुभयो ।
प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान गरिरहेको एसपी केसीले बताउनुभयो । नगरकोटी हराएपछि प्रहरीले खोजी कार्य तिब्र बनाएको थियो । प्रहरीले केनाईन बाट ४ वटा कुकुर सहित सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयको संयुक्त टोलीले नगरकोटीको खोजी गरेको थियो ।