चाँगुनारायण नगरपालिकाको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार

भक्तपुर, असार २८
चाँगुनारायण नगरपालिकाले मनसुनजन्य विपद्लाई मध्येनजर गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेको छ । मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ नेपाल सरकारले तयार गरेको निर्देशिका बमोजिम नगरपालिकाले योजना तयार पारेको हो ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० मा चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि विद्यमान रहेको क्षमता र मनसुनजन्य प्रकोपको संकटासन्नताका योजना समेटिएको छ । योजनामा विषयगत क्षेत्रले गर्ने कार्यहरुलाई समेत पूर्वतयारी तथा प्रतिकार्य गरी दुई भागमा तयार पारिएको छ । योजनामा नगरपालिकाको प्रतिकार्य कार्यढाँचाका समेत समावेश गरिएको छ ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले मनसुनको समयमा हुनसक्ने बाढी, पहिरो, नदीको कटान, चट्याङ्ग, महामारी जस्ता विपद्ले शहर, गाउँ, बस्ती, पशुपंक्षी, वालीनाली र नगरबासीको स्वास्थ्यमा पु¥याउन सक्ने जोखिमको विश्लेषण गर्दै त्यस प्रति सजग रहन, तत्काल राहत तथा उद्धार कार्यका लागि नगर र वडास्तरमा गठन भएका विपद् व्यवस्थापन समिति र विषयगत शाखाहरुको अधिकतम रुपमा परिचालन गरी सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी लगायत निजी तथा गैह्र सरकारी निकायहरुसंगको सहकार्य र सहयोगमा पूर्वतयारी र राहत तथा उद्धार कार्य छिटो छरितो एवं विश्वसनीय बनाउनु कार्य योजनाको उद्धेश्य रहेको बताउनुभयो ।
उहाँले मनसुनजन्य विपद्को अवस्थामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुरुप पूर्वतयारी तथा तत्काल प्रतिकार्यको लागि नगरस्तरीय आकस्मिक कार्य सञ्चालन केन्द्र अन्तर्गत आधारभूत खोज उद्धार सामग्री सहितको नगर प्रहरी सम्मिलित द्रुत प्रतिकार्य टोली, स्वास्थ्य सम्बन्धि द्रुत प्रतिकार्य टोली गठन भई नगरपालिकामा तयार रहेको जानकारी दिनुभयो ।
“बाढी, पहिरो, चट्याङ्ग, डेंगी लगायतका विपद्बाट बच्नको लागि जनचेतनामूलक सुचना तथा सन्देशहरु स्थानीय एफ.एम, नगरपालिकाको फेसबुक पेजबाट प्रसारण भइरहेको छ । वडास्तरमा अभिमुखिकरण र पर्चा वितरण गर्ने तयारी छ,” उहाँले भन्नुभयो । उहाँले नगरपालिकाको तर्फबाट आम नगरबासीलाई मनसुनजन्य विपद् सम्बन्धि सचेतनाको लागि सन्देश सहित सहकार्यको लागि समेत आव्हान गर्नुभयो ।


चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउने हेतुले एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्न आगामी आर्थिक वर्षमा नगरपालिकाले वडास्तरमा द्रुत प्रतिकार्य टोली गठन एवं प्रशिक्षण सञ्चालन, विपद् जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजना, स्थानीय विपद् उत्थानशील कार्यढाँचा, विद्यालय विपद् पूर्वतयारी कार्यक्रम, नीजि तथा सार्वजनिक साझेदारी अन्तर्गत सहकारी, विद्यालय, उद्योग तथा कलकारखानाहरुसंग सहकार्य गरी विपद् जोखिम न्यूनीकरणका गतिविधिहरु सञ्चालन, विपद् जोखिम न्यूनीकरण सम्बन्धि सुचना, शिक्षा र सञ्चार सामग्रीहरु प्रकाशन एवं वितरण, विपद् व्यवस्थापन सम्बन्धि प्रशिक्षण, स्थानीय पाठ्यक्रममा विपद् जोखिम न्यूनीकरणलाई समावेश गर्नुका साथै विपद् व्यवस्थापन कोष समेत गरी ३ करोड ५६ लाख ५० हजार रुपैयाको बजेट विपद् व्यवस्थापन अन्र्तगत विनियोजन गरिएको उहाँले बताउनुभयो ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि आइसेट नेपाल र डिसिए नेपालले चाँगुनारायण नगरपालिकामा सञ्चालन गरिरहेको नेक्सस परियोजना मार्फत आर्थिक र प्राविधिक सहयोग गरेको थियो ।
आइसेट नेपालका कार्यकारी निर्देशक कन्चनमणि दिक्षितले चाँँगुनारायण नगरपालिकामा उत्थानशील समुदाय निर्माणमा हातेमालो गर्न पाएकोमा खुशी लागेको बताउँदैं नगरपालिकासँगको सहकार्यमा प्रत्येक वडामा खोज तथा उद्धार सामग्रीको व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
चाँगुनारायण नगरपालिका विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापाको संयोजकत्वको कार्यदलले तयार गरेको योजना निर्माण कार्यदलमा नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अनुप लामिछाने, आइसेटका भरत ढुंगाना, राजकुमार लम्साल तथा ऋषि खड्काको सहभागिता रहेको थियोे । योजना तयारीका सन्दर्भमा ९ वटै वडामा रहेको विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य लगायत सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम संचालन गरी पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक सूचना, तथ्यांक तथा सुझाव संकलन गरि सरोकारवाला निकायहरुको सुझाबलाई समावेश गरी योजना तयार पारिएको हो ।