लोहकिल्थलीमा मुलढोका र कोठाको ताला फोडी दिउँसै साढे ११ लाखको धनमाल चोरी

भक्तपुर, असार २८
भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीमा बुधवार दिउँसो साढे ११ लाख रुपैंया बराबरको धनमाल चोरी भएको छ । स्थानीय समिट अस्पताल पछाडी रहेको देवी थापाको घरको भुई तल्लामा डेरा गरी बस्ने काभ्रेपलाञ्चोक नमोवुद्ध नगरपालिका–२ का ३० वर्षिय विष्णु तिमल्सिनाको फ्लाटमा चोरी भएको हो ।
तिमल्सिना काठमाण्डौं नयाँ बानेश्वरस्थित आफ्नै पसलमा गएको मौका पारी चोरी गर्ने समूहले घरको मुलढोका र फ्लाटका चार कोठाको ढोकाको समेत ताला फोडेर चोरी गरेको पाईएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसप) प्रजित केसीले बताउनुभयो ।
उहाँका अनुसार ल्यापटप, एक तोलाको सुनको सिक्री २ थान, सुनको तिलहरी आधा तोलाको, सुनको हार दुई तोलाको, सुनको बेरुबा औठी १ तोलाको, हिराको औठी १ थान, सुनको छापावाला औठी १ तोलाको १ थान, सुनको टप आधा तोलाको, सुनको झुम्का एक तोलाको, हिराको पुलीसहित करिव ११ लाख ४५ हजार रुपैंया बराबरको धनमाल चोरी भएको हो ।
बिहान १० बजे पसल गएका तिमल्सिना राती पौने ९ बजे डेरामा आएपछि चोरी बारे जानकारी भएको एसपी केसीले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।